द सिनेमा टाइम्स, काठमाडौं – केहीदिन पहिले रिलिज भएको सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत दुबो फुल्योलाई चोरीको आरोप लागेको थियो । संगीतकार आलोक श्रीले आफ्नो गीत ‘कहिले फोटो सिरानीमा’को संगीतसंग ‘दुबो फुल्यो’को संगीत मिलेको भन्दै मिडियामा आएपछी सुरु भएको विवाद अन्तत: टुङ्गिएको छ ।
‘दुबो फुल्यो’ गीतको केही अंश कहिले फोटो सिरानीमा संग मिल्न गएकोमा दुवै संगीतकारले त्यसलाई संयोग मानेर आपसी समझदारी गरेका हुन् । ‘कहिले फोटो सिरानीमा’का संगीतकार आलोक श्री, ‘दुबो फुल्यो’का संगीतकार एसडी योगी र सिनेमाका निर्देशक रामबाबु गुरुङको बिचमा भएको छलफल पश्चात ‘गीतको संगीत मिल्नु संयोग’ भन्ने सहमती भएको छ ।
संगीत मिल्नु संयोग मात्र थियो, नियतबस नगरिएको होइन भन्दै ‘दुबो फुल्यो’का संगीतकार एसडी योगीले कुनै पनि लेनदेन बिना आइन्दा गीतको विषयमा कुनै पनि विवाद नगर्ने सहमती भएको बताए । बजारमा संगीतकार आलोक श्रीले क्षती पुर्ती स्वरुप केही रकम माग गरेको भन्ने हल्लाको खण्डन गर्दै ‘कबड्डी कबड्डी कबड्डी’का निर्देशक रामबाबु गुरुङले कुनै पनि खालको लेनदेनको कुरा नभएको स्पष्ट पारे ।
हामी बिचमा कुनै पनि किसिमको लेनदेन भएको छैन बरु भाईचाराको उदाहरण प्रस्तुत गर्ने कोसिश गरेको संगीतकार आलोक श्रीले बताए । ‘पछिल्लो समय संगीत क्षेत्रमा गीत कपी या चोरी भएको भन्दै आर्थिक लेनदेनको प्रचलन बढ्दै गएको अवस्थामा हामीले यसलाई ‘संयोग’ मान्दै आफसी समझदारीमा सहमती गरेका छौँ’ संगीतकार आलोक श्रीले भने ।


प्रतिक्रिया