भदौ २७ मा आउने भयो दीपक र रोहितको ‘छ माया छपक्कै’

भदौ २७ मा आउने भयो दीपक र रोहितको ‘छ माया छपक्कै’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सिनेमा ‘छ माया छपक्कै’को प्रदर्शन मिति फाइनल गरिएको छ । निर्माता रोहित अधिकारीका अनुसार यो सिनेमा आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउने छ ।यसअघि भदौ १३ लाई प्रदर्शन मिति तय गरेको ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ मा पुगेपछि त्यसले पार्नसक्ने संभावित असरलाई मध्यनजर गर्दै ‘छ माया छपक्कै’ टिमले ‘कबड्डी कबड्डी कबड्डी’ भन्दा एक हप्ता पहिले नै आफ्नो रिलिज गर्ने तयारी गरेको चर्चा सिनेमा बजारमा छ ।

‘छ माया छपक्कै’ यसअघि दशैँको छेकोमा असोज ११ वा १७ गते रिलिज तयारीमा थियो । ‘कबड्डी’ सिरिज सर्नुको फाइदा ‘मारुनी’लाई भएको छ, भने ‘छ माया छपक्कै’ भदौ २७ मा आउनुको फाइदा ‘रातो टिका निधारमा’ले उठाउने छ । अशोक शर्माको निर्देशनमा निर्माण भएको ‘रातो टिका निधार’मा दुई ठुला सिनेमा रिलिज भएको कम्तिमा २ हप्तापछि मात्रै दशैँको फुलपातीमा रिलिज हुने चर्चा सिनेमा बजारमा भैरहेको छ ।दिपेन्द्र लामाको निर्देशन रहेको ‘छ माया छपक्कै’मा दीपकराज गिरी, दीपाश्री निरौँला, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतको मुख्य भुमिका रहेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’को मारमा यसअघि नै प्रदर्शन मिति फाइनल गरेर प्रचार प्रसारको तयारीमा रहेका सिनेमा ‘पासवर्ड’, ‘लभ डायरीज’, र ‘लभ यु हमेशा’ पर्ने भएका छन् । ‘पासवर्ड’ र ‘लभ यु हमेशा’ भदौ २७ बाट प्रदर्शनको तयारीमा थिए, भने ‘लभ डायरीज’ असोज ३ गतेबाट प्रदर्शनको तयारीमा थियो ।