अस्कर कलेजले ‘ओपन हाउस इभेन्ट’को आयोजना गर्ने

अस्कर कलेजले ‘ओपन हाउस इभेन्ट’को आयोजना गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आउँदो शनिबार अस्कर कलेज अफ फिल्म स्टडिजले ओपन हाउस इभेन्टको आयोजना गर्ने भएको छ । उक्त कलेजजमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकहरुलाई सिनेमा निर्माण सम्बिन्ध जानकारी गराउन लागिएको हो । सिनेमाका विभिन्न विधामा औपचारिक शिक्षा दिँदै आएको अस्कर कलेज अफ फिल्म स्टडिजले एक दिनका लागि सर्वसाधारणलाई पनि सिनेमा निर्माणका मुख्य विधामा जानकारी गराउने उद्देश्यले ओपन हाउस इभेन्टको आयोजना गर्न लागिएको हो ।

कलेज तथा युनिभर्सिटीबारे आम मानिसलाई एक मुष्ट जानकारी दिन विदेशमा ओपन हाउस इभेन्ट गर्ने प्रचलन छ । अस्कर कलेजले पनि गत वर्षबाट ओपन हाउस इभेन्टको थालनी गरेको हो । यसमा एक दिनका लागि सिनेमाका विभिन्न विधाको बारेमा जानकारी गराइन्छ । यो अवसरमा सर्वसाधारणले पनि कलेज वा युनिभर्सिटीका बारेमा प्रत्यक्ष जानकारी लिने मौका पाउँछन् ।अस्कर कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा सिनेमा निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए । ‘क्यामरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि लिएर पछिल्लो जमानाको लेटेस्ट प्रविधि भिएफएक्सका बारेमा पनि जानकारी रहनेछ । एउटा सिनेमा हलमा लाग्नुभन्दा अगाडि के के काम हुन्छ, यो दिन थाहा पाउन सकिने’, पन्तले बताए ।

त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन लिएर ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई सिनेमा निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि भिएफएक्सबारे जानकारी गराउनेछ । ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाउन पाउनेछन् ।

कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेडहुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राख्नेछ । उक्त इभेन्टमा क्यामराको विकास क्रमलाई पनि सहभागीले अवलोकन गर्ने अवसर पाउनेछन् । क्यामरासँगै इभेन्टमा कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर पनि देखाउनेछन् ।