‘जाइरा’की बुलेटले एक्सनमा देखाइन सम्भावना

‘जाइरा’की बुलेटले एक्सनमा देखाइन सम्भावना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नम्रता श्रेष्ठ स्टारर सिनेमा ‘जाइरा’ आगामी भदौ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । ‘जाइरा’लाई निर्माण टिमले महिला केन्द्रित सिनेकमा बताएको छ । यसै पनि नेपालमा महिला केन्द्रित सिनेमा न्युन मात्रामा निर्माण हुने गरेका छन् । अझ यस्ता सिनेमाले दर्शकको राम्रो साथ पाएको देखिदैन् । तर, अभिनेत्री नम्रता श्रेष्ठले पहिलो पटक महिला केन्द्रित सिनेमा निर्माण गरेर जोखिम मोलेकी छन् ।सार्वजनिक गीतसंगीत र ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाबाट सिनेमाले राम्रो दर्शकको साथ पाउने विश्वास निर्माण टिमलाई छ । ‘जाइरा’मा नम्रताले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । सिनेमामा उनलाई एक्सन गर्दै गरेको अवस्थामा देख्न सकिन्छ । यो सिनेमा नम्रताको करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ । सिनेमा एक महिलाले लिने प्रतिशोधको कथामा निर्माण गरिएको बताईएको छ ।

जाइराको नेगेटिभ रोल अर्थात् भिलेनमा पनि महिलालाई नै प्रस्तुत गरिएको छ । डेव्यु अभिनेत्री श्रृजना रेग्मी सिनेमामा ’बुलेट’को भूमिकामा प्रस्तुत गरिएको छ । सिनेमामा अभिनेत्री नम्रता र उनले जबरजस्त एक्सन गरेका छन् । ट्रेलरमा पनि त्यसको केही दृश्य समावेश गरिएको छ । अभिनेत्री नम्रताका अनुसार, सिनेमामा अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर श्रृजनाले निर्वाह गरेकी छन् ।सिनेमा रिलिज अगावै श्रृजनालाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । ट्रेलरको एक दृश्यमा उनको बाइक स्टन्टले अझ धेरैको ध्यान खिचेको छ । सिनेमाको ट्रेलर सार्वजनिक भएपछि श्रृजनाको लुक्स र एक्सनको सर्वत्र प्रशंसा भइरहेको छ । श्रृजना पनि जाइरालाई लिएर निकै आशावादी रहेको बताउँछिन् ।नम्रता र श्रृजनाका अलावा सिनेमामा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतको पनि अभिनय छ । यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको सिनेमाका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । बाबु श्रेष्ठले छायाँकन गरेको सिनेमामा प्रनिता श्रेष्ठ र कारा श्रेष्ठको लगानी रहेको छ ।