नम्रताको आशा: ‘जाइरा’ले लभरगर्लको छविलाई तोड्नेछ

नम्रताको आशा: ‘जाइरा’ले लभरगर्लको छविलाई तोड्नेछ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात भदौ ६ गते रिलीज हुने सिनेमा ’जाइरा’ टीम यतिबेला मोफसलको प्रचार यात्रामा छ । नेपाली सिनेमाको लागि दोश्रो ठुलो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरामा शुक्रबार दिनभर टीमले प्रचारका विभिन्न कार्यक्रम गरेको छ । यो यात्रामा सिनेमाका मुख्य कलाकार नम्रता श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठ र सम्राट मगर लगायत छन् ।कलाकारहरुको उपस्थितीमा लेकसाइडमा रहेको डुंगा रेष्ट्रोमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा पोखरामा स्थायी बसोबास गर्ने कलाकार सम्राट मगरलाई सञ्चारकर्मीमाझ परिचित गराईएको थियो । ‘फिटनेस ट्रेनर’ सम्राटले यसै सिनेमाबाट सिनेमामा डेब्यू गरेका छन् । सिनेमामा उनि जाइरा अर्थात नम्रता श्रेष्ठको कोचको भूमिकामा छन् ।

‘नेपालमा जोखिम मानिने महिला प्रधान सिनेमामा लगानी गर्न कसरि अग्रसर हुनु भयो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै अभिनेत्री श्रेष्ठले अरुले हिम्मत नगरेकै कारण आफुमा यो हिम्मत आएको बताइन । ‘जाइरा’मा लगानीसमेत गरेकी नम्रताले यस फिल्मले आफुलाई लभरगर्लको भूमिका मात्र गर्न सक्छे भन्ने भ्रमबाट मुक्त बनाउने आशा व्यक्त गरिन ।कुनै पनि हिसाबले फाइटर जस्तो नदेखिने भएपछि आठ महिना लामो तालिम लिएर मार्शल आर्टका सबै फर्म सिकेको उनले बताईन् । मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले सिनेमा केहि अनौठो लाग्न सक्ने बताउँदै ‘जाइरा’ राम्रो बनेको र सफल हुनेमा बिश्वस्त देखिइन् । पहिलो पटक यस प्रकारको भूमिका गरेकी नम्रताले स्पोर्टस ड्रामा ‘जाइरा’ एक्सन मनपर्ने दर्शकको लागि मात्र नभएर सबै दर्शकले मन पराउने बिश्वास व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा अभिनेता प्रमोद अग्रहरीको लूक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लूक्सबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भदौ ६ गते सिनेमा हेरेपछि उक्त लूक्सको राज खुल्ने बताए । कथामा आफ्नो नेगेटिभ भूमिका भएकोले ट्रेलरमा केहि ग्ल्यामर देखिएको अग्रहरीले प्रष्ट्याए । सिनेमामा पनि स्वभवतः ग्ल्यामर देखिने खुलाए ।त्यस्तै, पोखरामै ‘टम्बल वीड’ ब्याण्डले ‘जाइरा’को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’बोलमा प्रस्तुती दिएको थियो । लेकसाइडको रोलिङ स्टोन रक बारमा बिशेष प्रस्तुती दिँदै ब्याण्डले सिनेमाको ओएसटी प्रस्तुत गरेको हो । उक्त ओएसटी इन्टरनेटमा भने केहि दिनमा सार्वजनिक गरिने बताईएको छ । यसैगरी, पोखराका स्थानिय सञ्चार माध्यममा समेत पुगेको ‘जाइरा’ टिमले ट्रेड मलमा रहेको सिनेमा हल तथा मिड टाउन सिनेमा हल तथा अन्य सपिङ कम्प्लेक्समा दर्शकसामु साक्षात्कार गरेको थियो। अन्य केहि शहरहरुमा समेत ‘जाइरा’ टीम प्रचारको लागि पुग्नेछन् ।प्रनिता श्रेष्ठ र कारा श्रेष्ठ निर्माता रहेको सिनेमाको निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरामा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।