बरिष्ठ निर्देशक किशोर रानाको निधन

बरिष्ठ निर्देशक किशोर रानाको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ’राँको’बाट नेपाली सिनेमा निर्देशनमा डेव्यु गरेका निर्देशक किशोर रानाको बुधबार निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित उनको ६४ वर्षको उमेरमा बुधबार निधन भएको हो । रानाको बुधबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

सिनेमा प्रतिबिम्ब निर्माणको क्रममा मृगौलामा समस्या देखापछि उनले भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस गराएका थिए । त्यसपछि फेरि निमोनियाले ग्रसित भएपछि उनको दुबै मृगौलामा खराबी आएको थियो । विगत ६ वर्षदेखि उनले नियमित डाइलिसिस गर्दै आएका थिए । आर्थिक अभावका कारण उनले मृगौला प्रत्यारोपन गर्न सकेका थिएनन् ।२०१२ साल माघ ७ गते सुनसरीमा जन्मिएका निर्देशक रानाको पूर्खौली घर गुल्मी हो । २० वर्षको उमेरमा दार्जीलिङको डुवर्सबाट भागेर मुम्बई पुगेका किशोरलाई सडकमा भेटिएका गोपाल भुटानीले सामान्य कामदारका रुपमा बलिउड प्रवेश गराएका थिए । बलिउडमा करीब २२ वर्ष विताएका उनले नेपाली सिनेमामा पहिलो पटक विएस थापाको ’कान्छी’बाट सहायक निर्देशकको रुपमा काम गरेका थिए । केही भोजपुरी सिनेमा समेत उनले लेखन तथा निर्देशन गरेका थिए । निर्देशक किशोरकी श्रीमती गायिका संगीता राना प्रधान राना हुन् ।

किशोरले राँको, कर्जा, एक नम्बरको पाखे, सन्तानको माया, मिस्टर मंगले, चक्र, करोडपती, घाम छायाँ, सीमारेखा लगायत थुप्रै सफल सिनेमाका निर्देशक गरेका किशोर रानाले नेपालको जोमसोममा छायाङ्कन गरिएको मल्टीस्टार हिन्दी सिनेमा खुदा गवाह को लोकेशन व्यवस्थापक रहेका उनले त्यसअघि नै अन्धा कानून, जोन जानी जनार्दन, मुझे इन्साफ चाहिए, घरघरकी कहानी लगायत जमानाका दर्जनौं हिन्दी सिनेमाका मुख्य सहायक निर्देशक बने । थुप्रै सफल नेपाली सिनेमा निर्देशन गरेका किशोरलाई २०७४ को राष्ट्रिय अवार्डद्वारा लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।