‘श्रीमान’देखि ‘मारुनी’सम्म नवलको निर्देशकीय यात्रा…

‘श्रीमान’देखि ‘मारुनी’सम्म नवलको निर्देशकीय यात्रा…

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक नवन नेपाल पछिल्लो छिमलका लोकप्रिय निर्देशक हुन् । उनले रिलिजको लागि तयार ‘मारुनी’सहित ६ सिनेमा निर्देशन गरिसकेका छन् । पारिवारिक कथाबस्तुका सिनेमा बनाएर दर्शकको मन जितेका नवलको ‘मारुनी’ भदौ १३ मा रिलिज हुँदैछ ।युवापुस्ताको कथाबस्तु भए पनि ‘मारुनी’लाई सरल बनाएर सबै खाले दर्शकका लागि तयार गरेको नवल बताउछन । सुरुवाती चरणमा स्पटमा हेल्परका रूपमा सरसफाइसमेत गरेका नवलले दर्जन बढी ठुला सिनेमामा सहायक निर्देशकको काम गरे । त्यसपछि सानो पर्दाका ‘परिचय’, ‘किनारा’जस्ता चर्चित टेलिसिरियलका सय भन्दा बढी भागमा सहायक निर्देशकको भूमिका निर्वाह गरेका उनले पहिलो पटक ‘युग’ नामक लघुसिनेमा निर्देशन गरेका थिए ।

त्यसपछि ‘रात’ र ‘तस्विर’ नामक दुई वटा भिडियो सिनेमा निर्देशन गरे पछि नवल ठुलो पर्दाको निर्देशनमा उत्रिए । वि:स. २०६७ सालमा ‘श्रीमान’ नामक सिनेमा निर्देशन गरेपछि नवल निर्देशकको रुपमा उदाए । ‘महसुस’, ‘लज्जा’, ‘भाग सानी भाग’, ‘मङ्गलम’हुँदै ‘मारुनी’सम्म आइपुग्दा नवल एक राम्रो सिनेमा बनाउने मेकरको रुपमा स्थपित भैसकेका छन् ।

०६७ देखि ०७६ सम्मको करिब दशकको यात्रा कस्तो बित्यो त ?

श्रीमान

कल्याण घिमिरे, पुजना प्रधान, निर शाह, सुनिल थापा, पुष्पराज पुरुष, रुपा खनाललगायतका कलाकार लिएर नवलले पहिलो सिनेमा निर्देशन गरेका थिए । श्रीमान-श्रीमतीको प्रेमकथामा निर्मित सिनेमालाई दर्शकले रुचाएका थिए ।

सिनेमाले व्यवसायिक सफलता पाउदा नवललाई निर्देशकको रुपमा स्थापित बनायो । पटकथा लेखनसमेत गरेका नवलले पहिलो सिनेमाबाटै दर्शकको मन जितेका थिए । कल्याण घिमिरे यो सिनेमाको निर्माता पनि थिए ।

महसुस

नवल र निर्माता कल्याणको दोस्रो सहकार्य ‘महसुस’मा भयो । कल्याण यसपटक निर्माणमा मात्र थिए । सिनेमामा नवलले त्यतिबेलाका लिडिङ लिडर अभिनेता आर्यन सिग्देललाई मुख्य भूमिकामा लिए । उनको अपोजिटमा केकी अधिकारी र बेनिषा हमाल थिए ।

सिनेमाले प्रदर्शन पुर्व राम्रो हाइप सिर्जना गरेको थियो । तर, बक्सअफिसमा एभरेज सावित भयो । यो सिनेमाबाट निर्देशक नेपालको लोकप्रियता अझ अकासियो ।

लज्जा

चर्चित व्यानर छविराज प्रोडक्सनमा नवलले ‘लज्जा’बाट डेब्यु गरे । सिनेमाले नवललाई दोस्रो सफलताको स्वाद पनि चखायो । यहि सिनेमाबाट अभिनेत्री शिल्पा पोखरेलले डेब्यु गरेकी थिइन् । उनि आर्यन सिग्देलको अपोजिटमा थिइन् ।

भाग सानी भाग

पारिवारिक प्रेमकथानक सिनेमामा सफलता पाइरहेका बेला नवलले कमेडी जनराको ‘भाग सानी भाग’ निर्माण गरे । तर, उनको नयाँ प्रयोग सफल भएन । केकी अधिकारी र सबिन श्रेष्ठलाई लिएर बनाएको सिनेमा असफल भएको थियो ।

मङ्गलम

छविराज प्रोडक्सनको सहकार्यमा निर्मित ‘मङ्गलम’लाई नवल आफ्नो करिअरकै उत्कृष्ट सिनेमा मान्छन । सिनेमाले राष्ट्रिय मुद्दालाई पारिवारिक ड्रामामा ढालेको थियो । मर्न पाउने अधिकारको राष्ट्रिय तहसम्म बहस भएको थियो ।

यो सिनेमाले व्यवसायिक सफलता मात्र पाएन थुप्रै अवार्डमा आफ्नो वर्चश्व जमायो । सिनेमामा शिल्पा पोखरेल, पुष्प खड्का र पृथ्वीराज प्रसाईको मुख्य भूमिका थियो । यहि सिनेमाबाट अभिनेता पुष्पले राष्ट्रिय अवार्ड पनि जितेका थिए ।

र, मारुनी

नवल ‘मारुनी’लाई आफ्नो महत्वकान्क्षी प्रोजेक्ट मान्छन । वर्षकै प्रतिक्षित सिनेमामा अहिलेका चर्चित कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काले अभिनय गरेका छन् । भने, रेविका गुरुङले डेब्यु गरेकी छन् । यी कलाकार बीचको त्रिकोणात्मक प्रेमकथा सिनेमाले बोकेको छ ।

सिनेमाको मेकिङ, गीत/संगीत एवं स्टारकास्टले गर्दा बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । बलिउड सिनेमा ‘साहो’सँगको भिडन्तले इनिसियल व्यापार बिथोलिने देखिए पनि सबैको नजर ‘मारुनी’ कस्तो बनेको छ ? भन्नेतिर छ ।

अघिल्ला सफल सिनेमा जस्तै ‘मारुनी’लाई सकारात्मक ‘वर्ड अफ माउथ’ले लामो रेसको घोडा बन्न सघाउ पुर्याउने सिनेपण्डितको अनुमान छ । निर्देशक नवल सिनेमा मार्फत दर्शकको मन छोएर मन जित्न खप्पिस मानिन्छन ।