मेलवार्ता: लण्डनबाट काठमाडौँ सिनेमाको विश्वबजार खोज्दै विक्रम

मेलवार्ता: लण्डनबाट काठमाडौँ सिनेमाको विश्वबजार खोज्दै विक्रम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ २७ गते रिलिज हुने सिनेमा ‘पासवर्ड’, बलिउड अभिनेत्री सन्नी लियोनीको कारण चर्चामा छ । सिनेमामा उनले अभिनय र आइटम नृत्य पस्केको निर्माण पक्षले बताउदै आएको छ ।सिनेमामा अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको पनि अभिनय छ ।

मुख्य कलाकार मध्येका एक विक्रम जोशी सिनेमाको निर्मातासमेत हुन् । युकेमा बस्दै नेपाली सिनेमामा अभिनय र लगानी गरिरहेका विक्रम ‘पासवर्ड’को प्रिमियरमा नेपाल आउँदैछन् । यसअघि ‘ह्याप्पी डेज’मा पनि अभिनय र लगानी गरेका विक्रम नेपाल पब्लिसिटीमा उपस्थित हुन् नसक्ने भएपछि युकेबाटै मिडियासँग वार्तालाप गरिरहेका छन् ।

यसैक्रममा ‘द सिनेमा टाइम्स’ले १० वटा प्रश्न पठाएको थियो । युकेबाटै उनले १० प्रश्नको जवाफ फर्काएका छन् ।

‘पासवर्ड’को कथाबस्तु के हो ?

एक्सन, थ्रीलर र सस्पेन्स जनरामा एउटा पूर्ण मनोरंजन प्रदान गर्ने सिनेमा ‘पासवर्ड’ हो । दर्शकले सिनेमा अवधिभर बाँधिरहन्छ ।

विक्रम जोशीको भूमिका के छ ?

धनि बाउको एक व्यापारी छोराको भूमिकामा मलाई देख्न सक्नु हुन्छ । जो आफ्नो देशप्रति, इमान्दार र बफादार छ । मातृभुमिको समस्यासँग सदैव लड्न तयार एक देशभक्ति युवकको बलियो भूमिकामा आफुलाई उतारेको छु ।

सन्नी लियोनीसँगको टिमअप कसरी सम्भव भयो ?

पहिलो सिनेमा ‘ह्याप्पी डेज’मै सन्नी लियोनीलाई काम गराउने भन्ने हाम्रो सोच थियो । त्यस अनुरुप पहिलो चरणको कुरा सन्नीसँग राखिसकेका थियौँ । उहाँ पनि हामिसँग काम गर्ने मनस्थितिमै हुनुहुन्थ्यो । तर, निर्देशक मिलन चाम्सले सिनेमाको बजेट भारी हुने भने पछि ‘ह्याप्पी डेज’मा सन्नी जीलाई खेलाउन सकिएन ।

त्यसपछि हामीले पुन: ‘पासवर्ड’को लागि अफर गर्यौँ । उहाँले सहर्ष स्विकार्नु भयो ।

ट्रेलर भन्छ ‘नेपालबाट चोरी भएर विदेश पुगेका मुर्ति फिर्ता गर्ने संघर्ष ।’ यो कति यथार्थसँग नजिक छ ? या कथामा द्वन्द सृजना गर्न मात्र प्रयोग गरिएको हो ?

नेपालबाट मुर्ति चोरेर विदेश लैजाने यथार्थ नै हो । संचारमाध्यममा यस्ता खालका समाचार आइरहेकै हुन्छन । तर, ‘पासवर्ड’ यहि सत्यमा आधिरित तथ्यपरक सिनेमा होइन । यहि मुद्दालाई हामीले मनोरंजनमा ढालेका छौँ । तैपनि अन्त्यमा यो जघन्य अपराधको विरुद्दमा लड्नु पर्छ भन्ने संदेश ‘पासवर्ड’ले दिन्छ ।

सन्नी लियोनी कथाको माग हो की, पब्लिसिटीको बाटो ? कथाको माग हो भने सन्नीको भूमिका के छ ?

सन्नी लियोनी प्रचारकै लागि मात्र अटाइएको होइन । यदि उहाँ जोडिदा ‘पासवर्ड’को पब्लिसिटी हुन्छ भने त्यो हाम्रो लागि राम्रो हो । हाम्रो मुख्य उद्येश्य अन्तर्राष्ट्रिय रुपमा नेपाली सिनेमाको पहुँच पुर्याउनु हो । जसको लागि चर्चित विदेशी कलाकारलाई जोडेका हौँ ।

हामीले विदेशी सिनेमासँग प्रतिस्पर्धा गर्ने भनेर मात्र हुँदैन । त्यसको लागि अन्तर्राष्ट्रिय कलाकारलाई नेपाल भित्र्याउने हिम्मत पनि राख्नु पर्छ । हामि नेपाल रिलिजको एक साता पश्चात विश्वका १२ देशमा पनि ‘पासवर्ड’ रिलिज गर्दैछौँ ।

र, सन्नी लियोनीको सिनेमामा के भूमिका छ? भन्ने दर्शकको कौतुहलतालाई हलमै मेटाउने छौँ ।विक्रमले सिनेमा खेल्न आफैले लगानी गर्नै पर्ने हो ?

विक्कीले आफ्नो लागि भन्दा पनि नेपाली सिनेमामा लगानी गरिरहेको छ । त्यसमा आफै खेल्नु पर्छ भन्ने पनि छैन । अहिलेसम्म मैले निर्माण गरेका सिनेमामा कथाको माग भएकाले खेलिरहेको छु ।

कसरी ‘पासवर्ड’ निर्माण गर्ने निर्णयमा पुग्नु भयो ?

कथा मन पर्यो । र, यो कथामा केहि नयाँ गरौँ भन्ने हुटहुटि मनमा जागेपछि निर्माणको निर्णय गर्यौँ । त्यसैमा पहिला मैले नै लिडमा अभिनय गर्छु भन्ने सोच थिएन । तर, पात्र अनुसारको फिट हुने भएपछी निर्देशकले नै अप्रोच गर्नु भयो ।

‘पासवर्ड’को लगानी कति हो ? बक्सअफिसबाट कति आशा गर्नु भएको छ ?

राम्रो ३-४ वटा नेपाली सिनेमा निर्माण हुने बजेट ‘पासवर्ड’मा खर्चिएको छ । त्यसैले नेपालबाट यो लगानी रिकभर होला भन्ने आशा छैन । र, हामीले सिनेमाको विश्वव्यापी रिलिजको लागि तयारी गरिरहेका छौँ । ओभरसिज रिलिजको पहिलो चरण अन्तर्गत १२ देश अमेरिका, भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, जापान, कोरिया, युनाइटेड अरब इमिरेट्स, क्यानडा, पोर्चुगल, पोल्याण्ड, जर्मनी र मलेसियामा २० सेप्टेम्बर (असोज ३) गतेदेखि एकसाथ प्रदर्शन गर्दैछौँ ।

सुरुवातमै हामीले नाफा खोजेर हुँदैन । पहिला ठुलो लगानी रिकभर गर्ने ठुला बजार बनाउन सक्नु पर्छ । बहुभाषी रुपमा सिनेमा रिलिज गर्न सक्यौँ भने भोलिको दिनमा अवश्य पनि नेपाली सिनेमालाई फाइदा हुनेछ ।

अघिल्लो सिनेमा ‘ह्याप्पी डेज’बाट घाटा बेहोर्नु भयो । फेरि पनि व्यावसायिक सिनेमा निर्माण गर्नु भएको छ । अबको सफलता/असफलताले विक्कीको भविश्यमा के अर्थ राख्छ ?

पैसा नै सिनेमा निर्माणको मेरो पहिलो उद्येश्य होइन । तर, सिनेमा व्यापार पनि हो । नेपाली सिनेमाको अन्तर्राष्ट्रियकरण गर्न ‘पासवर्ड’ निर्माण गरेका छौँ । जसको लागि नेपाली दर्शक र मिडियाको भरपुर साथ चाहिन्छ ।

यदि दर्शकको साथ मिलेन भने, मेरो भन्दा पनि नेपाली सिनेमाको भविश्यको बारेमा चिन्ता गर्नुपर्नेछ । मलाई यो कुराले फरक पार्नेछ ।

सन्नीको एक आइटमलाई महँगो रकम निर्यात गर्नु भएको छ । त्यसबाट कति प्रतिशत आयात भयो ?

सिनेमा पर्यटन विकासको लागि भरपर्दो माध्यम हो । हामीले अन्तर्राष्ट्रिय कलाकारलाई नेपाली सिनेमासँग जोड्दा सिनेमाको मात्र नभई पर्यटन विकासमा पनि सघाउ पुग्छ । सन्नी जस्तो अन्तर्राष्ट्रिय कलाकारले नेपाली सिनेमा र नेपालको बारेमा बोल्दा पक्कै पनि अन्तर्राष्ट्रिय रुपमा प्रचार हुन्छ ।

त्यसैले फाइदा/बेफाइदा भन्दा पनि हाम्रो कदमले नेपालको कतिसम्म प्रचार गर्छ भन्ने कुरा महत्वपूर्ण हो ।