विल्सनको अनुभव, ‘तक्मेबाट आफुलाई धनकाजीमा ढाल्दा’…

विल्सनको अनुभव, ‘तक्मेबाट आफुलाई धनकाजीमा ढाल्दा’…

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हाँस्य टेलीसिरियल ‘मेरी बास्सै’बाट तक्मेबुढाको नामले लोकप्रिय कलाकार विल्सन विक्रम राईले दर्शकमाँझ आफ्नो छाप छोडिसकेका छन् । पछिल्लो समय ठुलो पर्दामा व्यस्त रहँदा विल्सनलाई टाइपकास्टको आरोप अत्याधिक लाग्ने गर्छ । प्राय: सिनेमामा उनको अभिनय र हाउभाउ एकै खाले भैदिदा लोकप्रियतामा ह्रास आएको मुल्यांकन पनि हुन थालेको छ ।

असोज ३ गते रिलिज हुने ‘कबड्डी कबड्डी कबड्डी’को प्रचारमा व्यस्त विल्सनलाई सोमबार पत्रकारले यहि आरोप लगाए । आत्ममुल्यांकनको आधारमा उनले यो आरोपमा सहमति जनाए । ‘नेपाली सिनेकर्मीले कलाकारको बिक्ने पात्रलाई मात्र प्राथमिकता दिन्छन । जुन पात्रमा हिट छ, त्यहि पात्रलाई सिनेमामा बिकाउन खेज्दा आफुलाई नयाँ स्वरुपमा ढाल्न नसकेको विल्सनले दुखेसो पोख्छन ।

तर, ‘कबड्डी ३’मा भने निर्देशक रामबाबु गुरुङले आफुलाई च्यालेञ्जिङ भूमिका दिएको दावी गर्छन । ‘म तक्मे पात्रमा कतिसम्म डुबेको रहेछु भन्ने ‘कबड्डी ३’ गर्दा चाल पाए । छायाँकनको दौरान सुरुवाती दिनमा मेरो हाउभाउ, लवजमा तक्मेको प्रभाव देखिदो रहेछ । सिङ्घम बनाउन ल्याएको तक्मे नै बन्ने भयो भन्ने खालका टिप्पणी पनि भए । त्यसपछि आफुमा परिवर्तन ल्याउनु पर्छ भन्ने सोच पलायो ।’

पहिलो पटक ‘कबड्डी’ सिरिजमा इन्ट्री मारेका विल्सन घान्द्रुकको धनकाजी नामको पात्रमा उभिएका छन् । जो मुस्ताङ्गे काजी (दयाहाङ राई)को अपोजिटमा कबड्डी खेल्दैछन् । अघिल्ला सृंखलामा दयाहाङको ‘काजी’ पात्रले अन्य पात्रलाई छायाँमा पारिदिएको थियो । त्यसैले काजीको अगाडी धनकाजीलाई दमदार देखाउन विल्सनले सक्दो मिहेनत गरेको बताउछन ।

‘तक्मेबाट आफुलाई धनकाजीमा ढाल्न एकदमै मिहेनत गर्नुपर्यो । साथमा मैले काजीसँग पनि कबड्डी खेल्नु पर्ने थियो । धनकाजीको लवज, हिडाई, मनोविज्ञान भित्र आफुलाई प्रवेश गराएको छु भन्ने लागेको छ । धनकाजीको भूमिका मैले जति सशक्त गरेको छु, त्यति नै काजीसँगको भिडन्तमा जित हुने सम्भावना बढ्नेछ ।’ उनि मिडियासँग गफिए

यसै शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमामा विल्सनसँगै उपासना सिंह ठकुरी र कर्मा शाक्यजस्ता नयाँ प्रमुख पात्रको इन्ट्री भएको छ । सिनेमामा दयाहाङ राई र रिश्मा गुरुङ यथावत छन् । तर, उपासनाको इन्ट्रीसँगै रिश्माको पात्रलाई प्रचारमा लुकाइएको छ । जो कथाको सरप्राइज प्याक रहेको निर्देशक गुरुङले बताएका छन् ।

तस्विर: ज्ञानु राई