द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित सिनेमा ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ । साउन १ साउने संक्रान्तिको अवसर पारेर निर्माण टिमले ‘पेन्सन पट्टा’को सिनेमाको पहिलो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको गीतमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारको आकर्षक अभिनय तथा प्रस्तुति देख्न सकिन्छ । गुरुङ समुदायको सांस्कृतिक परिवेश, भेषभूषा र मौलिक जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतले दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
हर्क साउदको शब्द तथा मनोज थापा मगरको संगीत रहेको गीतमा सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर छ । कमलबहादुर गुरुङको कोरियोग्राफी रहेको गीतले गुरुङ संस्कृतिअनुसार सजाइएको मौलिक परिवेशमा प्रेम, समर्पण र जीवनभरसँगै रहने भावलाई प्रस्तुत गरेको छ । स्थानीय जीवनशैली, प्राकृतिक सौन्दर्य र ग्रामीण परिवेशलाई गीतमार्फत सिनेमाको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र गाउँले परिवेशलाई प्रभावकारी बनाउने संकेत गरेको छ ।
निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने संघर्षको कथा हो । सिनेमामा पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारको पनि अभिनय रहेको छ ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको कथा तथा निर्देशन स्वयं माओत्से गुरुङकै हो । सिनेमामा सुशन प्रजापतिको छायांकन, नेमिश श्रेष्ठ र केर डी. कोइच लिनुचको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन, नवीन श्रेष्ठको सिन्क साउन्ड, मनोज श्रेष्ठको भिएफएक्स तथा राजु याक्चाको कला निर्देशन रहेको छ ।
सिनेमाका निर्माता मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ हुन् भने डीबी गुरुङ प्रोडक्सन म्यानेजर रहेका छन् । सिनेमाका अन्य गीतमा शिव बराइली र सूरज तमुका शब्द तथा शिव बराइली र सूरज तमुको संगीत रहेको निर्माण पक्षले जनाएको छ ।
सिनेमाको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ । निर्माण टिमका अनुसार सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारसमेत उत्साहजनक रूपमा विभिन्न मुलुकमा बिक्री भइसकेको छ । हालसम्म हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ भने अन्य देशसँग पनि प्रदर्शनबारे छलफल भइरहेको निर्देशक गुरुङले जानकारी दिएका छन् ।
हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गते प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’ले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र मानवीय संवेदनाको कथा दर्शकमाझ सशक्त रूपमा प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ ।


प्रतिक्रिया