द सिनेमा टाइम्स, काठमाडौं । रंग पत्रकार तथा म्यूजिक भिडियो निर्देशक सुव्रत आचार्य ८ वर्षपछि निर्देशनमा फर्किने भएका छन् । उनको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘हजारौँमा एक’को शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । एक्सन-एड्भेन्चर विधामा निर्माण हुने सिनेमालाई निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनले निर्माण गर्नेछ ।
आगामी फागुन र चैतमा छायांकनको तयारी गरिएको सिनेमाको कथा सीता मायाले परिकल्पना गरेकी हुन् भने उनी नै सिनेमाकी प्रस्तुतकर्ता हुन् । दिपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको रूपमा रहनेछन् । हरि हुमागाईंको छायांकन रहने सिनेमालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले मलयालम र हिन्दी भाषामा समेत स्वरांकन (डबिङ) गरिने जनाइएको छ ।
सिनेमाका परिकल्पनाकार तथा मुख्य अभिनेता भारतको मलयालम सिनेमा उद्योगसँग आबद्ध रहेका छन् । मुख्य अभिनेताबारे विस्तृत जानकारी केही समयपछि फर्स्टलुक पोस्टर सार्वजनिक गर्ने क्रममा गरिने निर्देशक आचार्यले जानकारी दिए । उनका अनुसार सिनेमामा मलयालमका केही कलाकार तथा प्राविधिकहरूको पनि सहभागिता रहनेछ ।
सिनेमाको पटकथालाई शान बस्नेतले नेपाली परिवेश अनुकूल संवाद रूपान्तरण तथा परिमार्जन गरिरहेका छन् । निर्माण पक्षका अनुसार सिनेमाको मुख्य भूमिकामा अधिकांश नेपाली कलाकारहरू हुनेछन् । प्राविधिक टोलीमा पनि नेपाली नै रहनेछन् । चार करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुने सिनेमाको छायांकन नेपालका पर्यटकीय स्थानहरूमा हुने जनाइएको छ ।



प्रतिक्रिया