द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘मास्टर्नी’को प्रमोसनल गीतबारे उत्पन्न विवादपछि अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीले सार्वजनिक रूपमा क्षमायाचना गर्दै विवादित गीत सबै आधिकारिक प्लेटफर्मबाट हटाइसकिएको जानकारी दिएकी छन्।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले गीत विवादप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन्। उक्त गीत सिनेमाभित्र समावेश गरिएको आधिकारिक गीत नभई केवल प्रचारप्रसारका लागि तयार गरिएको सामग्री रहेको स्पष्ट पारेकी छन्।
उनले गीतमा प्रयोग भएका केही शब्द र दृश्यका कारण शिक्षक-शिक्षिका पेसा तथा त्यससँग जोडिएका व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भन्दै आएका गुनासोलाई आफूले अत्यन्त गम्भीरतापूर्वक लिएको उल्लेख गरेकी छन्।
‘कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजको सबैभन्दा सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वहरूमाथि कुनै पनि प्रकारको नकारात्मक असर परोस् भन्ने मेरो वा मेरो टिमको मनसाय कदापि थिएन,’ उनले लेखेकी छन, ‘यद्यपि, हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा चोट पुर्याएको महसुस गर्दै म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना गर्दछु।’
अभिनेत्री कार्कीले पहिलो पटक सिनेमा निर्माणको यात्रा सुरु गर्दा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्याउने उद्देश्य नरहेको उल्लेख गर्दै यस घटनालाई भविष्यका लागि महत्त्वपूर्ण सिकाइका रूपमा लिएको बताएकी छन्। साथै, नेपाल शिक्षक महासंघ, सम्पूर्ण शिक्षक-शिक्षिका तथा यस घटनाबाट आहत भएका सबैप्रति सम्मान व्यक्त गर्दै माफी मागेकी छन्।
विवादलाई सम्बोधन गर्दै उनले ‘मास्टर्नी’को प्रचारात्मक गीत गायक दुर्गेश थापाको युट्युब च्यानलबाट स्थायी रूपमा हटाइसकिएको र आफ्ना सबै सामाजिक सञ्जालबाट पनि गीतसँग सम्बन्धित सामग्री हटाइएको जानकारी दिएकी छन्।
‘तपाईंहरूले दिनुभएको सल्लाह, सुझाव र आलोचनालाई मैले सकारात्मक रूपमा ग्रहण गरेकी छु। आगामी दिनमा आफ्ना सिर्जना र विषयवस्तु छनोटमा अझ बढी संवेदनशील, जिम्मेवार र सचेत रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ कार्कीले भनेकी छन्।
पछिल्ला केही दिनयता ‘मास्टर्नी’को प्रचारात्मक गीतमा प्रयोग गरिएका शब्द र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। नेपाल शिक्षक महासंघले समेत विज्ञप्ति जारी गर्दै गीतले शिक्षक पेसाको गरिमामाथि चोट पुगेको भन्दै प्रसारण रोक्न र हटाउन माग गरेको थियो। त्यसलगत्तै गायक दुर्गेश थापाले गीत हटाउने निर्णय सार्वजनिक गरेका थिए भने यसैबीच अभिनेत्री तथा निर्माता प्रियंका कार्कीले पनि औपचारिक रूपमा क्षमायाचना गर्दै विवादित सामग्री हटाइएको जानकारी दिएकी हुन्।


प्रतिक्रिया