शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आयो अरुण र सिमरनको ‘गौँथली’

शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आयो अरुण र सिमरनको ‘गौँथली’

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिमरन खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘गौँथली’ आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । यो सिनेमा देशभरका हलमा करिब २०० शोसहित प्रदर्शनमा आएको हो ।

प्रिमियरमा राम्रो प्रतिक्रियासहित उच्च हाइप बनाएको सिनेमाले राम्रो ग्रसकलेक्सन गर्नेमा निर्माण टिम विश्वस्त छ । प्रिमियर शोमा सिनेमा हेरेकाले विषय, अभिनय र प्रस्तुतिले दर्शकलाई तान्ने प्रतिक्रिया दिएपछि निर्माण टिम त्यसको सकारात्मक प्रभाव हलमा देखिनेमा ढुक्क छ ।

‘हाम्रो सिनेमा आजबाट प्रदर्शनमा आएको छ । प्रिमियर शोमा जस्तै आम दर्शकले पनि हलमा सिनेमा मन पराउनु हुनेछ भन्ने विश्वास छ,’ निर्देशक कपिल रिजालले भने । केही हलमा दर्शकको फ्‌लो राम्रो देखिएको छ । बिहीबार नै केही शोमा अकुपेन्सी राम्रो देखिएको थियो ।

सिनेमामा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

‘गौँथली’लाई कपिल रिजालले निर्देशन गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको सिनेमाको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

डा. भोला रिजालको कथा रहेको सिनेमाको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमामा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।