प्रियंका कार्कीको ‘मास्टर्नी’ विवादमा, शिक्षक महासंघले भन्यो- ‘गीत हटाउनुपर्छ’

प्रियंका कार्कीको ‘मास्टर्नी’ विवादमा, शिक्षक महासंघले भन्यो- ‘गीत हटाउनुपर्छ’

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनीत सिनेमा ‘मास्टर्नी’को प्रोमोसनल गीत विवादमा परेको छ। गीतमा प्रयोग गरिएका शब्द र प्रस्तुतिप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। यसैबीच, नेपाल शिक्षक महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै गीतमा महिला शिक्षकवर्गप्रति अपमानजनक शब्द र भाव प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ।

महासंघले उक्त गीतले महिला शिक्षकमाथि नकारात्मक प्रभाव पार्न सक्ने भन्दै यसको प्रसारण रोक्न र हटाउन माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘महिला शिक्षकवर्ग लक्षित अपमानित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको हुँदा त्यो नेपाली समाजमा हुँदै नभएको कुरा मात्र होइन, हुनै नहुने पनि भएकाले प्रसारण अविलम्ब बन्द गर्न तथा हटाउन पुनः माग गर्दछौँ।’

साथै, महासंघले गीत यथावत् राखिए त्यसबाट उत्पन्न हुन सक्ने परिणामप्रति सिनेमा निर्माता र सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने चेतावनीसमेत दिएको छ। शिक्षक तथा शिक्षण पेशाको गरिमा र सम्मान कायम राख्न सम्बन्धित पक्षलाई संवेदनशील हुन महासंघले आग्रहसमेत गरेको छ।

गायिका बबिना किराती र गायक दुर्गेश थापाको स्वर रहेको उक्त गीतका शब्द, दृश्य र प्रस्तुतिलाई लिएर अहिले चौतर्फी विवाद भइरहेको छ। गीतको भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान देशराज जोशी, आर्यन सिग्देललगायतका कलाकारको अभिनय रहेको छ।

सिनेमा आगामी भदौ ५ गते प्रदर्शनको तयारीमा छ। यो प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको सिनेमा हो। विवादित गीत ‘मास्टर्नी’ गायक दुर्गेश थापाले प्रियंकालाई उपहारस्वरूप दिएको बताएका थिए।