‘मास्टर्नी’ विवादपछि दुर्गेश थापाद्वारा गीत हटाउने घोषणा, ‘भावनामा चोट पुगेकाप्रति क्षमायाचना गर्दछु’

‘मास्टर्नी’ विवादपछि दुर्गेश थापाद्वारा गीत हटाउने घोषणा, ‘भावनामा चोट पुगेकाप्रति क्षमायाचना गर्दछु’

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘मास्टर्नी’को प्रचारप्रसारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा परेपछि गायक दुर्गेश थापाले उक्त गीत हटाउने घोषणा गरेका छन्।

शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले गीत हटाउने घोषणा गरेका हुन्। विज्ञप्तिमार्फत थापाले गीतका केही शब्द र प्रस्तुतिका कारण शिक्षक-शिक्षिका तथा गुरुजनहरूको भावनामा चोट पुगेको महसुस भएको उल्लेख गर्दै त्यसप्रति क्षमायाचना गरेका छन्। उनले गीत कसैको पेशा, व्यक्तित्व वा सम्मानमा आँच पुर्‍याउने उद्देश्यले नबनाइएको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, ‘उक्त गीतका केही शब्द तथा प्रस्तुतीकरणका कारण आदरणीय दर्शक, शिक्षक-शिक्षिका, गुरुजनहरूको भावनामा ठेस पुगेको महसुस गरेका छौं, त्यसप्रति म तथा सम्पूर्ण टिमको तर्फबाट हृदयदेखि नै क्षमायाचना गर्दछौं।’

दुर्गेशले शिक्षक समाजका मार्गदर्शक, ज्ञानका दीप तथा सम्मानका पात्र रहेको उल्लेख गर्दै उनीहरूप्रतिको आफ्नो सम्मान सधैं अटल रहने बताएका छन्।

साथै, प्राप्त सुझावलाई आत्मसात् गर्दै ‘मास्टर्नी’ गीत आफ्नो आधिकारिक युट्युब च्यानल तथा अन्य सामाजिक सञ्जालबाट हटाइसकेको जानकारी पनि दिएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘दर्शकहरूको भावनाको सम्मानस्वरूप ‘मास्टर्नी’ गीतलाई दुर्गेश थापा युट्युब च्यानल तथा मेरा अन्य सामाजिक सञ्जालहरूबाट आधिकारिक रूपमा हटाएको जानकारी गराउँदछु।’

थापाले दर्शकबाट प्राप्त माया, साथ, आलोचना र सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा अझ जिम्मेवार र उत्कृष्ट सिर्जना लिएर आउने विश्वास व्यक्त गरेका छन्।

यसअघि नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ गीतमा महिला शिक्षकवर्गप्रति अपमानजनक शब्द र भाव प्रयोग भएको भन्दै गीत हटाउन माग गरेको थियो। त्यसपछि बढेको विवादका बीच दुर्गेश थापाले सार्वजनिक रूपमा क्षमा माग्दै गीत हटाउने निर्णय गरेका हुन्।