‘गौँथली’ रिलिज गर्दै सञ्चालनमा आयो ग्वार्कोस्थित गुण सिनेमा

‘गौँथली’ रिलिज गर्दै सञ्चालनमा आयो ग्वार्कोस्थित गुण सिनेमा

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ललीतपुरको ग्वार्कोस्थित गुण सिनेमा अत्याधुनीक प्रबिधिका ८ वटा स्क्रिनसहित आज साउन १ गतेबाट संचालनमा आएको छ । गुण सिनेमा २०५२ सालमा खुलेर करिब २७ बर्ष निरन्तर सफलताका साथ सञ्चालनमा आएको थियो । नयाँ भवन निर्माणका लागि २०७९ सालमा पूर्णरुपले बन्द हुन पुगेको हल आज शुक्रबारबाट फेरि दर्शकको मनोरञ्जनमा खटिएको छ ।

‘नयाँ भवन निर्माणका लागि हल बन्द गर्नु परेकाले धेरै दर्शकलाई सिनेमा हेर्न असुबिधा भएको थियो,’ बिहीबार साँझ हल बारे जानकारी दिन आयोजीत कार्यक्रममा गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र (दिजेन्द्र) शाक्यले भने, ‘अब हामी पहिलाभन्दा थप एक हलका साथमा आएका छौं । दर्शकले आफ्नो रुचि अनुसारका सिनेमा, रोजीछाटी हेर्न सक्नु हुनेछ ।’

देशकै ठूलो मल्टिप्लेक्स चेन-क्युएफएक्सको ब्यबस्थापन रहेको गुण सिनेमामा ४१ देखि २६० सिट क्षमताका हलहरु छन् । अध्यक्ष शाक्यका अनुसार हलहरुमा जिडिसी सर्भर, पुल्ज र जेबिएल स्पिकर, डिटिएस एक्स, प्रोसेसर एआइबि ३००० इमर्सिभ साउण्ड सिस्टम, बेल्जियममा निर्माण भएको बार्को टुके लेजर प्रोजेक्टरका साथमा गालालाइट सिल्भर स्क्रिन जडान गरिएको छ । दर्शकको सुबिधाका लागि हरेक हलमा प्रिमियम सोफा सिट, फुल एअर कन्डिक्सनको ब्यबस्थाका साथमा कम्फर्टवेल र लक्जरियस लबी निर्माण गरिएको छ । हलभित्र हिमालयन जाभा कफीसहित दर्शकको चाहना बमोजीमका खाना, स्न्याक्सको ब्यबस्था गरिएको छ ।

कार्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष दिनेश डिसीले नेपाली सिनेमाको बिकास, बिस्तार र दर्शकको अभिरुचि बृद्धिका लागि गुण सिनेमाले दिदै आएको योगदान स्मरण गर्दै एकै छानामुनी अत्याधुनीक प्रबिधि र सुबिधायुक्त ८ वटा हल संचालनमा आउदा निकै गर्व लागेको बताए ।

चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले गुण सिनेमाको नयाँ स्वरुपको तारिफ गर्दै सिनेमाको बजार बिस्तारमा निकै सघाउ पुग्ने धारणा राखे । क्युएफएक्स प्रमुख नकिम उद्दिनले दरबार सिनेम्याक्सपछि गुण सिनेमासँग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गरे । गुण सिनेमा सधै गुणस्तरियताको पक्षमा रहेको धारणा उनको थियो ।

नेपाली तथा बिदेशी सबै प्रकारका सिनेमा प्रदर्शन हुने गुण सिनेमामा पहिला एकै छानामुनी ७ वटा हल थिए । काठमाडौं उपत्यकाका जिल्ला मात्रै नभइ काभ्रे, सिन्धुपाल्चोक, रामेछाप तथा सिन्धुलीबाट समेत दर्शकहरु सिनेमा हेर्न गुण सिनेमामा ओइरिने गर्दथे । जसकारण नेपाली सिनेमाले आम्दानीको ठूलो हिस्सा गुण सिनेमाबाट लग्ने गर्दथे । अब पुनः त्यो ‘युग’ सुरु भएको निर्माता छबिराज ओझाले बताए ।

दरबारमार्गमा ०७९ बैशाखबाट दरबार सिनेम्याक्स हल संचालन गरिरहेको गुण सिनेमा प्रालिको ग्वार्को गुणमा शुक्रबारबाट नेपाली सिनेमा ‘गौँथली’, हिन्दी ‘धमाल ४’, अंग्रेजी ‘द ओडिसी’ लगायतका सिनेमा प्रदर्शनमा आएका छन् ।