‘कबड्डी ३’को बम्पर ओपनिङ, शनिबारदेखि शोजमा बढोत्तरी

‘कबड्डी ३’को बम्पर ओपनिङ, शनिबारदेखि शोजमा बढोत्तरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – संविधान दिवस अर्थात असोज ३ गते रिलिज भएको सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा बम्पर सुरुवात गरेको छ ।

शुक्रबार बिहानदेखि बेलुकासम्म ‘कबड्डी ३’ हेर्ने दर्शकको भिड लाग्यो । रामबाबु गुरुङ निर्देशित सिनेमा मल्टीप्लेक्स र सिंगलका स्क्रिनमा बलियो देखियो । बिहान ८ बजेको शोजमा ७० प्रतिशत देखिएको अकुपेन्सीले दिउँसोदेखि शतप्रतिशत अंक नाघ्यो । राति ९ बजेसम्मका शो हाउसफुल हुनुले पनि ‘कबड्डी’ प्रति दर्शकको विश्वास बलियो देखिएको छ ।

साथै, सिनेमालाई मिलेको बलियो ‘वर्ड अफ माउथ’ शनिबार अँझ धेरै दर्शक हल पुग्ने अनुमान छ । सिनेमा हेरेका दर्शकले कलाकारको अभिनय र निर्देशकीय क्षमताको प्रशंसा गरेका छन् ।

वितरक कम्पनि ‘स्टेशन ५’ले दिएको जानकारी अनुसार सिनेमाले पहिलो दिनमा १ करोड ४७ लाखको व्यापार गरेको छ । यो साल रिलिज भएका सिनेमा मध्ये ‘कबड्डी ३’ले गरेको ओपनिङ नै सर्वाधिक ठुलो हो ।

मल्टीप्लेक्समा शो थपिए

सिनेमाको ‘वर्ड अफ माउथ’ बलियो भएपछि शनिबारका लागि मल्टीप्लेक्सले शो बढाएका छन् । ‘कबड्डी ३’को लागि सुरुवाती ६५ शो निकालेको क्युएफएक्सले शनिबारको शो बढोत्तरी ७४ पुर्याएको छ । भने १२ शो निकालेको बिग मुभिजले १४ शो दिएको छ ।

यस्तै ११ शोजबाट प्रदर्शन सुरु गरेको एफक्युबले शनिबार १३ शो बाँडेको छ । शुक्रबार ९ र ७ शो दिएका बिएसआर र क्युजले शनिबारको लागि समान १०/१० शो छुट्याएका छन् । भने, ८ शो दिएको सिडिसीले ९ शोमा पुर्याएको छ ।

राजधानीबेस यी मल्टीप्लेक्समा १ सय १२ शोजबाट प्रदर्शन सुरु गरेको ‘कबड्डी ३’ शनिबार १ सय ३० शोजमा प्रदर्शन हुनेछ ।

दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, कर्मा शाक्य, विजय बराल, बुद्दि तामाङ, रिश्मा गुरुङलगायतले  सिनेमामा मुख्य भूमिका निर्वाह गरेका छन् ।