शनिबार पनि ‘कबड्डी ३’को बम्पर व्यापार, सिंगल डे कलेक्सनमा नयाँ रेकर्ड

शनिबार पनि ‘कबड्डी ३’को बम्पर व्यापार, सिंगल डे कलेक्सनमा नयाँ रेकर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले नेपाली बक्सअफिसमा नयाँ रेकर्ड राखेको छ । प्रदर्शनको दोस्रो दिनमा सिनेमाले १.७८ करोडको ग्रस कलेक्सन गर्दै सिंगल डे अंकमा नयाँ उचाई प्राप्त गरेको हो ।१.७८ करोड नै नेपाली सिनेमाले एकल दिनमा कमाएको आधिकारिक कलेक्सन हो । शनिबार राजधानीबाट ९२ लाख कलेक्सन गरेको ‘कबड्डी ३’ले मोफसलमा ८६ लाख व्यापार गरेको वितरक कम्पनि ‘स्टेशन ५’ले जानकारी दिएको छ । यस्तै पहिलो दिनको कलेक्सन १.४७ करोडमा राजधानीबाट ८० र मोफसलबाट ६७ लाख योगदान रहेको छ ।

दुई दिनमा सिनेमाको टोटल ग्रस ३ करोड २५ लाख पुगेको छ । पहिलो दुई दिनमा पनि यो कलेक्सन नेपाली सिनेमाको लागि सर्वाधिक हो । शुक्रबारको व्यापार र बलियो वर्ड अफ माउथलाई मध्येनजर गर्दै शनिबार देशैभर सिनेमाको लागि हल र शोज थपिएको थियो । शनिबारको बम्पर व्यापारले गर्दा सिनेमाले नेपाली बक्सअफिसमा नयाँ रेकर्ड राख्न सफल भएको हो ।सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको अभिनय छ ।

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा सिनेमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।