‘पोई पर्यो काले’को गीतमा प्रेम परियारको स्वर रेकर्ड

‘पोई पर्यो काले’को गीतमा प्रेम परियारको स्वर रेकर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तिहारको अवसर पारेर कार्तिक ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पोई पर्यो काले’को नयाँ गीत रेकर्ड गरिएको छ । ‘मर्ने कसैलाई रहर हुँदैन’ गीत गाएर निकै चर्चामा आएका गायक प्रेम परियारले मंगलबार सिनेमाको लागि ‘मायाले मलाई बोल’को गीतमा स्वर भरेका हुन् ।

प्रेमले गाएका गीतहरु सामाजिक संजालमा भाइरल भएपछि उनलाई निर्देशक विकासराज आचार्य र संगीतकार बसन्त सापकोटाले ‘नाई नभन्नू ल २’का लागि गीत गाउने अवसर दिएका थिए । सोही गीतले उनको स्वरको जादुलाई रातारात संसारभरका नेपालीमाझ परिचित गरायो ।

तर, केही समय उनी सिनेमाको गीतबाट हराएका थिए । उनै, प्रेमले ‘नाई नभन्नु ल ४’ पछि सिनेमा ‘पोई पर्यो काले’मा स्वर दिएका छन् । गायक परियारले पढाइका कारण र स्वर बदलिएका कारण आफूले केही समय गीतमा आवाज नदिएको बताए ।

प्रेमले भने–‘यो गीतको शब्द सुन्ने वित्तिकै मन पर्यो । आशा छ, मलाई प्रतिक्षा गर्नुभएका दर्शकहरुले यो गीत मन पराउनुहुनेछ ।’ गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको भन्दै उनले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए ।

रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । यो गीतमा सिनेमाका मुख्य दुई कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री पूजा शर्मालाई फिचरिङ गरिएको छ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

सिनेमामा आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि मुख्य भूमिका छ । कमेडी जनरामा निर्माण भएको सिनेमाले श्रीमान ‘काले’ परेपछि एक यूवतीको जीवनमा आउने उतारचढावको कथालाई प्रस्तुत गर्नेछ ।