‘कबड्डी ३’द्वारा विदेशी सिनेमा विस्तापित, व्यापारमा एकरुपता कायमै

‘कबड्डी ३’द्वारा विदेशी सिनेमा विस्तापित, व्यापारमा एकरुपता कायमै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विदेशी सिनेमासँगै रिलिज हुँदा नेपाली सिनेमालाई एक किसिमको डर पैदा हुन्छ । अझ ठुला व्यानरका सिनेमाले नेपाली बक्सअफिसमा हलचल नै ल्याइदिञ्छन ।

यस्तोमा विदेशी सिनेमासँग नेपाली डराउनु सामान्य जस्तै भैसकेको छ । तर, समय जहिले एक तर्फी हुँदैन । नेपाली सिनेमाले विदेशीलाई पाखा लगाएका केहि उदाहरण छन् ।

असोज ३ गते रिलिज भएको ‘कबड्डी कबड्डी कबड्डी’ले पनि विदेशी सिनेमालाई नराम्रोसँग पाखा लगाईदियो । रामबाबु गुरुङ निर्देशित सिनेमासँग हलिउडको ‘र्याम्बो: लास्ट ब्लड’ र बलिउडको ‘द जोया फ्याक्टर’ रिलिज भएका थिए ।

‘कबड्डी ३’ दुई करोड नेपाली बजेटमा निर्माण भएको थियो । ‘द जोया फ्याक्टर’को बजेट ‘कबड्डी ३’को भन्दा २४ गुणा बढी थियो । भने, ‘र्याम्बो’ ५ अर्व ६७ करोड नेपाली बजेटमा निर्माण भएको थियो ।

नेपाली बक्सअफिसमासँगै रिलिज हुँदा ‘र्याम्बो’ले ‘कबड्डी ३’लाई असर गर्न सक्ने अनुमान पनि गरिएको थियो । किनकी, हलिउडको सफल सिरिजको यो पाँचौ भाग थियो । यस्तै क्रिकेटको विषयमा बनेको ‘द जोया फ्याक्टर’ले नेपाली क्रिकेटका पारखीलाई हलसम्म तान्ने अनुमान थियो ।

सुरुवाती शोजमा ‘कबड्डी ३’ले बाजी मारे पनि यी दुई विदेशी सिनेमासँग ‘कबड्डी’लाई जित्न सक्ने ठाउँ मिलेको थियो । तर, पहिलो दिनदेखि नै ‘कबड्डी ३’को दवदवा सुरु भयो । विकेन्डसम्म देशभरका अधिकाँस स्टेशनबाट विदेशी सिनेमा उतारिएको थियो ।

बुधबारसम्मको व्यापारमा नेपाली दर्शकको पहिलो रोजाइमा ‘कबड्डी ३’ नै परिरहेको छ । र, दोस्रो सातामा पनि सिनेमाले राम्रो प्रदर्शन गर्ने छाँटकाँट देखाएको छ ।

‘कबड्डी ३’ले चौथों दिनसम्म नेपाली बक्सअफिसबाट ५.२० करोडको व्यापार गरिसकेको छ । पहिलो साता ७ करोड माथि कमाउने अनुमान गरिएको छ । बुधबारको ६०-८० अकुपेन्सीले सिनेमालाई सजिलै ७ करोड क्लबको बाटो देखाइदिएको छ ।

दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा शाक्य, विल्सन विक्रम राई, विजय बराल अभिनित ‘कबड्डी ३’ले विदेशी सिनेमालाई पाखा लगाउँदा नेपाली मेकरलाई एक किसिमको खुसि मिलेको छ ।