दर्शक मनोविज्ञान बुझेर ‘रातो टिका निधारमा’ निर्माण गरेको छु – निर्देशक शर्मा

दर्शक मनोविज्ञान बुझेर ‘रातो टिका निधारमा’ निर्माण गरेको छु – निर्देशक शर्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – व्यवसायिक सिनेमा दर्शकको मनोविज्ञान पढेर निर्माण गरिन्छन । दर्शकलाई २ घण्टा मनोरंजन दिनु नै व्यवसायिक सिनेमाको सुत्र हो । असोज १० देखि रिलिज हुने सिनेमा ‘रातो टिका निधारमा’ यहि सुत्रमा बाँधिएको छ । र, अन्त्यमा सामाजिक चेतना पनि छोडेको छ ।

लामो समय सिनेमा निर्माणको अनुभव सँगालेका पाका निर्देशक अशोक शर्माले दशैँमा ‘रातो टिका निधारमा’ ल्याएका छन् । शिर्षक नै दशैँ लक्षित छ । के यसपटक दशैँमा निर्देशक शर्माले दर्शकको मनोविज्ञानसँग खेल्न सक्लान त ? नतिजा पाउन दशैँको ‘रातो टिका र जमरा’ लगाउने दिनसम्म कुर्न जरुरि छ ।

उद्योगकी नम्बर १ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनयमा निखारिएका कलाकारको जम्बो टोली सिनेमामा छ । त्यसैले सिनेमाले व्यवसायिक सफलता पाउनेमा निर्देशक शर्मा विश्वस्त छन् ।

‘फिल्मको मुटु स्क्रिप्ट हो। फिल्म निर्माण वा स्क्रिप्ट लेख्दा यहाँ दुई तरिका अपनाउने गरिन्छ, पहिलो–दर्शकको मनोविज्ञानका आधारमा, अर्को–मेकरको मनोविज्ञानका आधारमा। यस हिसाबमा फिल्म ‘रातो टीका निधारमा’ बनाँउदा दर्शकको मनोविज्ञान बुझेर नै बनाएको छु, जसलाई दर्शकले स्वीकार गर्नेमा विश्वस्त पनि छु,’ निर्देशक शर्माले भने ।

तस्विरमा: रातो टिसर्टमा निर्देशक अशोक शर्मा र पछाडी छोरा अंकित शर्मा

यहि सिनेमाबाट शर्माले आफ्नो छोरा अंकित शर्मालाई अभिनयमा डेब्यु गराएका छन् । बक्सअफिस सफलतासँगै अंकितको कामको प्रतिक्रियाले पनि निर्देशक शर्मालाई विशेष असर पार्नेछ ।

सिनेमामा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

तस्विर: ज्ञानु राई