बादशाह बन्न चाहने दुई युवाको संघर्ष, ‘बादशाह जुट’

बादशाह बन्न चाहने दुई युवाको संघर्ष, ‘बादशाह जुट’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सम्पूर्ण हिन्दुधर्मालम्वी नेपालीलाई बडादशैँले ढपक्क ढाकेको छ । गाउँ शहरसम्म सबैलाई दशैँकै चटारो छ । तर, कार्तिक १५ देखि प्रदर्शनमा आउने सिनेमा ‘बादशाह जुट’ भने प्रचारमै व्यस्त छ ।

यतिबेला टिमले मोफसल टुर सुरु गरेको छ । हेटौडा हुँदै चितवन पुगेको टिमले त्यहाँ सिनेमा सम्वन्धि जानकारी बाँडेको छ । निर्देशक जोनी सिंह राणा, अभिनेता सुशील श्रेष्ठ, अभिनेत्रीद्वय केइशा रावत, रश्मी पाण्डे र निर्माता हर्क बहादुर कुँवर यस टुरमा सहभागी भएका छन् ।

चितवन प्रेसमिटमा यसै सिनेमाबाट निर्देशनमा डेब्यु गरेका जोनी सिंहले पहिलो खुड्किलोमा आफुले शतप्रतिशत लागि परेर काम गरेको बताए । ‘सिनेमामा देशमा केहि गर्न खोज्ने प्रहरी र पत्रकार युवाको कथा प्रस्तुत गएका छौँ । कहिँ-कतै आतंकवादी आक्रमणको कथा लागे पनि त्यो मूल कथामा पर्देन ।’

निर्देशन राणाको कुरामा सहि थाप्दै निर्माता हर्कबहादुरले भने ‘यी दुई युवाको बादशाह बन्ने संघर्ष र बादशाह बन्न कस्तो खालको काम गर्नुपर्छ भन्ने कुरा सिनेमाले देखाउन खोजेको छ । देशको अराजक राजनीतिदेखि दिक्क भएका नेपालीलाई ‘बादशाह जुट’ले २ घण्टा भए पनि मनोरंजन दिने विश्वास लिएका छौँ ।’

यस्तै अभिनेता श्रेष्ठले सिनेमामा आफ्नो च्यालेञ्जिङ भूमिका रहेको बताए । अघिल्ला सिनेमा भन्दा फरक र बलियो भूमिका भएकाले ‘बादशाह जुट’को लागि कडा मेहनत गरेको दावी गरे । राम्रो सिनेमामा दर्शकले रुचाइदिने आशा व्यक्त गर्दै एकपटक हलसम्म पुगीदीन आग्रह गरे । सिनेमामा सुशीलले एक पत्रकारको भूमिका निर्वाह गरेका छन् ।

मुम्बईमा बस्दै गर्दा नेपाली सिनेमामा डेब्यु गरेकी केइशाले ‘बादशाह जुट’को स्क्रिप्टले नेपालसम्म तान्न सफल भएको बताइन । भने, अर्की अभिनेत्री रश्मीले आफ्नो भूमिका दमदार भएपनि त्यसबारे खासै बताउन चाहिनन् । प्रहरीको भूमिकामा देखिएकी रश्मिले आफु कथाको ट्वीस्ट भएको बताइन ।

शुक्रबार साँझ सिनेमा युनिटले नारायणी नदि किनारमा कन्सर्ट पनि आयोजना गरेको थियो । दार्जिलिङको चर्चित तथा लेजेन्ड्री ब्याण्ड ‘मन्त्र ब्याण्ड’सँगको सहकार्यमा उक्त कन्सर्ट समापन गरिएको थियो ।

सिनेमामा रोविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।

अभिषेक शशी कुमारको लेखनमा निर्मित सिनेमामा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।