दुई सातामा ‘कबड्डी ३’को व्यापार ११ करोड बढी

दुई सातामा ‘कबड्डी ३’को व्यापार ११ करोड बढी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिस १० करोड ग्रसको अंक पार गरेको छ । बडादशैँ पुर्वसन्ध्यामा शुभकामना दिन निर्माण पक्षले प्रेसमिट आयोजना गरेको थियो ।


सुरुवातदेखि नै आक्रामक देखिएको ‘कबड्डी ३’को रफ्तार बक्सअफिसमा घटेको छैन । वितरक कम्पनि स्टेशन ५ ले दिएको जानकारी अनुसार सिनेमाले दुई सातामा ११ करोड ३ लाख रुपैयाँ ग्रस बटुलेको छ ।

सिनेमाले पहिलो साता ७ करोड ३८ लाख देशव्यापी कमाएको थियो । भने, दोस्रो साताको कुल कलेक्सन ३ करोड ६५ लाख रह्यो । दोस्रो साता कलेक्सनमा ५०.५४ प्रतिशत गिरावट देखिएको छ ।

बलिउडको ‘वार’ र हलिउडको ‘जोकर’ रिलिज भएपछी ‘कबड्डी ३’को हल र शोजमा कटौती भएको छ । तर, पनि सिनेमाको व्यापार राम्रो छ । दशैँको विदामा अक्सर नेपालीले विदेशी सिनेमा हेर्ने गर्दैनन् ।

कार्यक्रममा निर्देशक गुरुङ, कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्दि तामाङ लगायतले सम्पूर्ण नेपालीलाई विजय दशमीको शुभकामना व्यक्त गरे ।

समिक्षकबाट मिश्रीत प्रतिक्रिया पाए पनि दर्शकले ‘कबड्डी ३’को खुलेरै प्रशंसा गरिरहेका छन् । त्यसैले दशैँ भरि नै सिनेमाले राम्रो व्यापार गर्ने आशा गरिएको छ ।

सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको अभिनय छ ।

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा सिनेमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।