‘छ माया छपक्कै’ हेरेपछि बरिष्ठ व्यक्तिले के भने ?

‘छ माया छपक्कै’ हेरेपछि बरिष्ठ व्यक्तिले के भने ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज २४ बाट अलनेपाल प्रदर्शन भैरहेको सिनेमा ‘छ माया छपक्कै’ले बुधबार बेलुका राजधानीमा स्पेशल शो सम्पन्न गरेको छ । शोमा नेपाली राजनीतिक क्षेत्र र सिनेमा क्षेत्रका चर्चित व्यक्तित्वको उपस्थिति रह्यो ।

दीपेन्द्र लामा निर्देशित सिनेमा हेर्न विशेषत: राजनितिज्ञको घुइंचो लाग्यो । जयनेपाल हल परिसर बुधबार बेलुकाको रौनकमा खचाखच थियो । राजनीतिक पृष्ठभूमिका व्यक्तित्वले ‘छ माया छपक्कै’ हेरेपछि के भने त ?

पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल – कथानक अलिकति मिलाएको जस्तो लागेन मलाई । कतिपय कुरा सहि पनि छन् । विगतका इतिहाँसलाई जसरी देखाइएको छ, त्यो मात्र राजनीतिको तस्विर होइन । समाजका विभिन्न क्षेत्रका दुई वटा पाटाहरु छन्, जसलाई सामान्यीकृत गर्नु हुदैन । तर, पनि समाज र राजनीतिका विकृति-विसंगतिहरुलाई अझ उत्खनन गर्न सकिन्थ्यो । सकेसम्म जनताको लोकप्रिय व्यक्तिलाई जिताइदिएको भएको उत्कृष्ट हुने थियो ।

पुर्व प्रधानसेनापति रुक्मांगत कटुवाल – अहिलेको सन्दर्भमा नेपाली राजनीतिक दलको लागि सिनेमाले पाठ पढाएको छ । दलीय राजनीतिका कारण हेरेकले आफ्नो जिम्मेवारी कहाँनेर बिर्सेका छन् भन्ने कुरा देखाउन खोजेको छ । आफ्नो सिद्दान्तलाई अब राजनीतिक दलले भुल्नु हुँदैन ।

उर्जामन्त्री वर्षमान पुन – राजनीतिमा नयाँ व्यक्ति आउनु पर्छ । जनताको हितमा लड्नु पर्छ भन्ने संदेश सिनेमाले बोकेको छ । म यो पनि भन्छु ‘दीपक-दीपा र रवि लामिछाने जस्ता लोकप्रिय व्यक्ति राजनीतिमा आइदिए अझ राजनीतिक दललाई प्रतिस्पर्धा गर्न मज्जा आउथ्यो होला ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित – राजनीतिले जनताका समस्यालाई बुझेर बोक्न सक्नु पर्छ । र, पुराना मान्यतालाई समय सन्दर्भमा परिवर्तन गर्नुपर्छ । हरेक क्षेत्रमा राजनीतिको पहुँच पुर्याउनु हुँदैन ।

लोकप्रियता क्षेत्र अनुसार फरक हुन्छ । जस्तो राजनीति दलको लोकप्रियतालाई मात्रै राजनीतिमा प्रयोग गरौँ । त्यसैले राजनीतिक पृष्ठभूमिमा लोकप्रियता कमाएको व्यक्ति नै जनप्रतिनिधि बन्नु पर्छ । परम्परागत सोच बोक्नेहरु अब टिक्न सक्दैनन् ।

पर्यटनमन्त्री योगेश भट्टराई – लोकतन्त्रको सुन्दर पक्ष, ‘नागरिकको सर्वोच्चता हो ।’ सिनेमाले यहि सुन्दर पक्षलाई बोकेको छ । दीपक-दीपा र टिमलाई मिठो प्रस्तुतिको लागी धन्यबाद व्यक्त गर्न चाहन्छु ।

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा – सिनेमाले तीन वटा कुरा चित्र अभिव्यक्त गरेको छ । ‘नेपालका कयौँ गाउँको कथा छ, आपसी झगडा र राजनीतिक दलले गाउँ व्यवास्ता गर्दाको पिडा, जब गाउँले मिल्न थाल्छन र दल-दल विचको दिल मिल्छ तब देशले बिकासमा फड्को मार्छ । यसको लागि निर्देशक दीपेन्द्र लामा, दीपक-दीपा र कलाकारहरुको प्रस्तुतिलाई बधाई तथा शुभकामना व्यक्त गर्छु ।

राष्ट्रिय सभा सदस्य सांसद कोमल वली – सर्वप्रथम निर्देशक दीपेन्द्र लामालाई कथा र निर्देशनको लागी हार्दिक बधाई दिन चाहन्छु । सिनेमाले वास्तविकतालाई छोएको छ । मनोरंजन अधिक मात्रामा छ । राजनीतिक दलले जनताप्रतिको आफ्नो सिद्दान्त भुल्नु हुँदैन भन्ने संदेश बोकेको छ । र, म पनि राजनीतिक आस्था बोकेको भएकाले यो संदेश लाई आत्मसाथ गर्नेछु ।

संचारकर्मी रवि लामिछाने – समग्रमा मलाई ‘छ माया छपक्कै’ राम्रो लाग्यो । सेकेण्ड हापमा अलि भड्किन्छ की भन्ने डर थियो । त्यसपछि पुन: सिनेमाको लय सम्हालियो । मनोरंजन र संदेशको मिश्रणमा सिनेमा राम्रो बनेको छ । दीपक-दीपा टिमले बनाउने सिरिजमा धेरै सुधार भएको देखे ।

रोहित अधिकारीको सम्पूर्ण लगानी रहेको सिनेमाले नेपाली बक्सअफिसमा जबर्जस्त व्यापार गरिरहेको छ । पहिलो विकेन्डमै लगानी सुरक्षित नजिक पुगेको सिनेमालाई २ करोड ३० लाखको बजेटमा निर्माण गरिएको बताइएको छ ।

सिनेमामा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टलगायतका कलाकारको अभिनय छ ।