अर्धवार्षिकमा चार सिनेमा सफल, अघिल्लो वर्षको तुलनामा सुखद लक्षण

अर्धवार्षिकमा चार सिनेमा सफल, अघिल्लो वर्षको तुलनामा सुखद लक्षण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्षेनी सयको हारहारी नेपाली सिनेमा रिलिज हुने भए पनि बक्सअफिसमा सफल सिनेमाको अनुपात निक्कै कम छ । गत वर्ष रिलिज भएका ९० बढी सिनेमामा चारले मात्र चोखो नाफा कमाए ।

त्यसमा पहिलो ६ महिनाको कुरा गर्दा ३ सिनेमा सफल भएका थिए । २०७६ सालको पनि पहिलो ६ महिनाको समय गुज्रिसकेको छ । अघिल्लो वर्षको तुलनामा यो ६ महिना केहि सुखद देखिएको छ । तर, यसलाई सन्तोषजनक मान्न सकिन्न ।

बैशाखदेखि असोज मसान्तसम्म रिलिज भएका ३२ बढी सिनेमामा ४ सिनेमा सफल देखिएका छन् । जसमध्ये तीन सिनेमाले सुपरहिटको व्यापार गरेका छन् । भने, एउटाले घरेलु बक्सअफिसबाट जेनतेन लगानी उठायो ।

बैशाख महिनामा रिलिज भएको ‘दाल भात तरकारी’ले बक्सअफिस बम्पर ओपनिङ गर्ने अनुमान गरिएको थियो । तर, सिनेमा खरो उत्रन सकेन । सुदन केसीको डेब्यु निर्देशनलाई समिक्षकले पचाएनन । त्यैपनि महजोडीको संलग्नताले ‘दाल भात तरकारी’ बक्सअफिसमा सुरक्षित भयो ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नीरुता सिंह, प्रियंका कार्की, आँचल शर्मा, पुष्प खड्कालगायतका कलाकारको अभिनय थियो ।

यस्तै जेठमा रिलिज भएको ‘जात्रै जात्रा’ले समिक्षात्मक र व्यापारिक रुपमा आफुलाई बलियो देखायो ।९.२५ करोड आसपासको ग्रस कलेक्सन गरेको सिनेमाको वर्षकै पहिलो सुपरहिट सावित भयो ।

प्रदीप भट्टराई निर्देशित सिनेमामा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँलगायतका कलाकारको मुख्य भूमिका थियो ।

बैशाख र जेठमा सुखद देखिएको नेपाली बक्सअफिस असोजसम्म सुस्तायो । बीचको तीन महिनामा कुनै पनि सिनेमाले जादु देखाउन सकेनन् । असोज ३ मा रिलिज भएको ‘कबड्डी कबड्डी कबड्डी’ पश्चात पुन: बक्सअफिस जुर्मुराएको छ ।

अझ भन्नु पर्दा यो असोज महिनामा मात्रै दुई सिनेमा सफल भए । झन्डै १३.५० करोड कलेक्सन गरेको ‘कबड्डी कबड्डी कबड्डी’को उत्कृष्ट व्यापारलाई ‘छ माया छपक्कै’ले निरन्तरता दिइरहेको छ ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ३’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सनविक्रम राई, बुद्दि तामाङ, विजय बराललगायतका कलाकारको अभिनय थियो ।

दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’को समिक्षात्मक दृष्टि मिश्रीत छ । तर, दर्शकले  रुचाएका छन् । सिनेमाको व्यापार उत्कृष्ट छ ।

सिनेमामा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्टलगायतका कलाकारको अभिनय छ ।

पहिलो ६ महिनामा चार सिनेमा सफल हुँदा आगामी ६ महिनामा कति सिनेमा सफल होलान त ? यो साल दर्जन जति सिनेमा सफल भएमा व्यापारिक रुपमा राम्रो मानिनेछ ।