‘घामड शेरे’को कथा, पृष्ठभूमि र मनोरंजन बिल्कुलै फरक छ – निर्देशक बिसी

‘घामड शेरे’को कथा, पृष्ठभूमि र मनोरंजन बिल्कुलै फरक छ – निर्देशक बिसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – जब पहिलो पटक निश्चल बस्नेतले ‘घामड शेरे’को केन्द्रिय द्वन्द्व पढे, उनको मस्तिस्कमा बलिउड सिनेमा ‘ओ माइ गड’को कथाबस्तु घुम्न थाल्यो । अनि झट्टै निर्देशक हेमराज बिसीलाई सोधे, ‘यो त ‘ओ माइ गड’को केन्द्रिय द्वन्द्वसँग मेल खाएन र ?

‘घामड शेरे’को ट्रेलर हेर्दा ‘ओ माइ गड’मा अभिनेता परेश रावलले भगवान विरुद्द मुद्दा हालेको झल्को आउँछ । यता ‘घामड शेरे’ले खोला माथी मुद्दा हाल्छन । बजारमा पनि बलिउड सिनेमाबाट ‘घामड शेरे’ले केन्द्रिय द्वन्द्व चोरेको आरोप सुनिएका छन् ।

तर, निर्देशक बिसी यस कुराको खण्डन गर्छन । निर्देशनमा डेब्यु गरेको ‘होस्टेल’ भन्दा अगाडी नै ‘घामड शेरे’को कथा हेमराजको दिमागमा आइसकेको थियो । ‘ओ माइ गड’ भन्दा ठ्याक्कै एक वर्ष पछाडी ‘होस्टेल’ प्रदर्शनमा आएको थियो । त्यसैले बिसीको मौलिकतामा माथी अहिले नै प्रश्न उठाउन गाह्रो पर्छ । कार्तिक ८ गते रिलिज हुने सिनेमाले उत्तर दिनेछ ।

कथाको जन्मथलो र सेटिङ सुर्खेत

भेरिगंगा नगरपालिका, सुर्खेतको छिन्चु बजार जन्मथलो भएका बिसीले कथा पनि त्यहिबाट झिके । प्राकृतिक सम्पदा माथी मुद्दा हालेका प्रसंगहरु कहिँ कतै सुनेका बिसीले यसबारे लिखित प्रमाण भने फेला पारेनन् । बुढापाकाले यस्तो घटना हुने गरेको बताए पछि उनले पटकथामा ढाल्ने निर्णय गरे ।

निर्देशकको रुपमा ‘होस्टेल’बाट डेब्यु गरेपनि हेमराजले तुरुन्तै ‘घामड शेरे’को कथामा काम गर्न सकेनन् । कारण थियो, अपरिपक्क आफु र कथा ।

‘होस्टेल’हुँदै ‘जेरी’, ‘सम्बोधन’, ‘गाजलु’, ‘ग्याङस्टर ब्लुज’ र ‘द ब्रेकअप’ जस्ता चर्चित सिनेमाको निर्माण पछि मात्र ‘घामड शेरे’को पालो आयो ।

‘ओ माइ गड’ कन्टेन्टबेस सिनेमा थियो । भने, ‘घामड शेरे’ क्यारेक्टर बेस सिनेमा हो । त्यसैले ‘सेन्ट्रल आइडिया’ले मेल खाए पनि सिनेमाले दिने मनोरंजन, संदेश, पृष्ठभूमि बिल्कुलै फरक छन् । यो एक पात्रको जीवनमा आउने उतारचढाव हो भने, ‘ओ माइ गड’ पुरै भगवानको विषयमा लक्षित थियो ।’ निर्देशकले दुई सिनेमामा समानता नभेट्ने दावी गरे ।

निश्चल र स्वस्तिमाको कास्टिङ

पछिल्लो समयका चर्चित र लोकप्रिय अनुहार हुन्, निश्चल र स्वस्तिमा । आदर्श जोडीको रुपमा हेरिने यी दुईलाई लिएर सिनेमा बनाउन चाहानेको लामै सुची छ । तर, पहिलो पटक यो जोडीलाई पर्दामा उतार्ने सौभाग्य हेमराजको हत्केलामा रहेछ ।

सुरुवातमा निश्चल र हेमराजको सहकार्य एक लभस्टोरी सिनेमाको लागी हुँदै थियो । स्क्रिप्टमा चित्त नबुझेपछि हेमराजले उक्त सिनेमा तत्कालका लागी रोकिदिए । र, निश्चलको छविसँग सुहाउने कथा आफ्नो बाकसबाट झिके ।

निश्चललाई ‘घामड शेरे’को ड्राफ सुनाएपछि उनी राजी भए । पटकथाको काम सुरु भयो । कास्टिङको शिलशिलामा स्वस्तिमा खड्काको नाम पहिलेदेखि नै हेमराजको दिमागमा खेलिरहेको थियो ।

‘बुलबुल’ हेरेपछि स्वस्तिमा हेमराजको नजरमा परेकी थिइन् । पात्र सुहाउने र न्याय गर्न सक्ने पनि स्वस्तिमा नै लाग्यो । साथै, निश्चल र स्वस्तिमाको जोडीलाई पहिलो पटक पर्दामा उतार्दा व्यावसायिक दृष्टिकोण पनि बलियो देखिने भयो ।

गुपचुपमा छायाँकन

‘निश्चल चित्रित सिनेमाको फर्स्टलूक पोस्टर सार्वजनिक भएपछी मात्र ‘घामड शेरेको चर्चा चुलियो । निश्चलको धुलाम्य रुप सबैका लागी सरप्राइज सावित भयो । अन्य सिनेमा झैँ यसको छायाँकन अगाडी खासै समाचार बाहिरिएका थिएनन् । त्यसैले पनि निश्चलको त्यो रुप दर्शकका लागी कौतुहलता शृजना गर्ने माध्यम बन्यो ।

प्राय: सिनेमा फ्लोरमा जाँदा एक किसिमको हल्ला गर्ने चलन पछिल्लो समय व्याप्त छ । तर, ‘घामड शेरे’को हकमा त्यो लागु भएन । अगाडी हल्ला गर्दा फ्लोरमा गएको टिमको मनस्थितिमा असर पर्ने देखिए पछि निर्देशक बिसीले गुपचुप मै सुटिङ सकाए ।

‘फ्लोरमा भैरहेका बेला संचारमाध्यममा आउने समाचारले टिमको मनस्थितिमा असर गर्ने भएकाले गुपचुप मै सुटिङ सकायौँ । सुटिङ पछाडी बरु लागी परेरै प्रचारमा खट्ने भन्ने हाम्रो योजना थियो ।’ बिसीले भने ।