आफ्नो लागी आफैँ बोलौँ – निश्चल बस्नेत

आफ्नो लागी आफैँ बोलौँ – निश्चल बस्नेत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निश्चल बस्नेत स्टारर सिनेमा ‘घामड शेरे’ २२ कार्तिकदेखि अलनेपाल रिलिज हुँदैछ । कार्तिक ८ मै आउने भनिएको सिनेमा कम शोजका कारण दुई साता पछाडी धकेलिएको थियो ।

हेमराज बिसीको निर्माण एवं निर्देशन रहेको सिनेमा फस्टलुक रिलिज भएसँगै चर्चामा आएको थियो । रिलिज पोस्टपोन्ड पश्चात ‘घामड शेरे’लाई लिएर केहि प्रश्न उब्जिए ।

आइतबार निर्माण पक्षले सफाइ दिन प्रेस भेटघाट आयोजना गर्यो । हुनत, निर्माण पक्षले हलमा सोचेजति स्थान नमिलेकाले पछाडी सर्नु परेको पहिले नै प्रष्ट पारिसकेको थियो । त्यैपनि निर्देशक बिसी र कलाकार निश्चल र स्वस्तिमा खड्काले रिलिजबारे स्पष्टीकरण दिएका छन् ।

‘हामीले हाम्रो सिनेमाबाट जति आशा गरेका थियौँ । शोज संख्याले त्यो परिपूर्ति नगर्ने देखियो । अनि मिहेनत खेर जाने देखेर पछाडी सर्यौं।’ निर्देशक बिसीले भने ।

उता निश्चलले आफु समस्यामा पर्दा आफैले आवाज उठाउनु पर्ने धारणा व्यक्त गरे । यसअघि पनि दुई – तीन पटक समस्यामा पर्दा पाएको दु:ख सम्झिदै निश्चलले भने ‘मैले पहिले नै भोगेको छु । त्यसैले अहिले अलि कम बोल्न थालेको छु । यहाँ एक्लैले आवाज उठाएर केहि हुँदैन । र, आवाज पनि स्वयम्ले मात्र उठाउनु पर्छ ।’

शोजको विषयमा असन्तुष्टि जनाउदै स्टाटस लेखेका निश्चल अगाडी भने  ‘यहाँ हामी एक-एक जनाले भन्दा पनि निर्माता संघले आवाज उठाउनु पर्ने हो । उसले एक्सन लिनलाई हामीले उजुरी गर्नै पर्छ । यतिकै देखेर केहि गर्दैन संघले । त्यसैले आफुलाई पर्दा आफैले मात्र बोल्नुपर्ने अवस्था शृजना भएको छ ।’

कलाकारले स्वस्तिमा खड्काले कार्तिक २२ मा ‘घामड शेरे’ सबैलाई हेर्न आग्रह गरिन । सिनेमामा आफ्नो तर्फबाट केहि फरक दिने प्रयत्न गरेको बताउने स्वस्तिमा दर्शक साथप्रति आशावादी देखिइन ।

अन्याय पर्दा खोला विरुद्द नै मुद्दा हाल्न पछि नपर्ने एक ‘घामड’ पात्रको जीवनमा आउने उतारचढाव सिनेमाले बोकेको छ । जसको शिर्ष भूमिकामा निश्चल छन् । भने, उनको श्रीमती स्वस्तिमासँग साली-भेनाको सम्बन्ध गाँसिएको छ ।