म यस्तो गीत गाउँछु २: एउटै गीतको छायाँकनमा सात दिन (फोटोफिचर)

म यस्तो गीत गाउँछु २: एउटै गीतको छायाँकनमा सात दिन (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पूजा शर्मा र पल शाह स्टारर सिनेमा ‘म यस्तो गीत गाउँछु २’को एउटा गीत छायाँकन गर्न ७ दिन लागेको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतलाई छायाँकन गर्न ७ दिन लागेको निर्माण पक्षले बताएको छ ।


नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथरलगायतका स्थानमा खिचिएको गीतमा पूजा र पल रोमान्टिक देखिएका छन् । अर्जुन पोखरेलको संगीतमा तयार गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

५ सय कोरस प्रयोग गरिएको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । भिडियोमा सौरभ लामाको छायाँकन छ । सिनेमाको निर्देशक सुदर्शन थापा हुन् ।

उनले गीतको बारेमा भने ‘हामीले चलचित्रका कुनै पनि गीत तथा दृश्यमा संझौता गरेका छैनौ । गीतले मागेको लोकेशन अनुसार नै भिडियो खिचिएको छ ।’ गीतको छायाँकनको लागि केवल तामाङले स्थानीय व्यवस्थापनको जिम्मा लिएका थिए ।


पूजा र पलको मुख्य भूमिका रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा सुपरहिट भएको थियो । त्यसैले यसको सिरिजले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

फागुन २३ गते रिलिज हुने सिनेमाको पहिलो प्रचार सामाग्री अन्तर्गत यो गीत सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ । शिवम अधिकारीले लेखेको सिनेमामा दिनेश डीसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय छ ।

सांगीतिक प्रेमकथामा निर्माण भैरहेको सिनेमा फ्लोरमा गएको ४५ दिन बितिसकेको छ । अझै १५ दिन छायाँकन चल्ने निर्माण पक्षले बताएको छ । सिनेमा सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।

यो सिनेमालाई सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको सिनेमामा जन्मजय साम्पाङ राइ सह–निर्माताको रुपमा छन् ।