सिनेमाको व्यापारमा हिट गीतको योगदान, सफल र असफल बराबर

सिनेमाको व्यापारमा हिट गीतको योगदान, सफल र असफल बराबर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एउटा मेकरलाई सफल सिनेमा बनाउन के-कस्तो तत्वको आवश्यक पर्छ ? पक्कै पनि विषयबस्तु, प्रस्तुति, राम्रो कलाकार, संगीत र प्रचारको सहि समिश्रणले सिनेमा सफल हुने सम्भावना नजिक देखिन्छ ।

अझ नेपाली सिनेमाको हकमा राम्रो संगीतले दर्शकलाई हलसम्म तान्छ भन्ने मान्यता चलिआएको छ । सिनेमाको पब्लिसिटीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गीत हिट हुन् आवश्यक छ । पछिल्लो समय कन्टेन्टमा सिनेमा बन्ने गरेतापनि गीत समावेश गर्ने चलन घटेको छैन ।

यो वर्ष पनि हिट गीत समावेश भएका सिनेमा बक्सअफिसमा सुपरहिट भएका छन् । तर, विषयबस्तु र कमजोर प्रस्तुति भएका सिनेमालाई हिट गीतले कुनै फाइदा पुर्याएको छैन ।

‘दाल भात तरकारी’को ‘भिजिट भिषामा’ बोलको गीत सुपरहिट बन्यो । फलस्वरूप सिनेमाले बक्सअफिसमा आफुलाई सुरक्षित गर्यो । जेठमा रिलिज भएको ‘जात्रै जात्रा’को ‘माया पिरिम’ गीत हिट हुँदा सिनेमाले बक्सअफिसमा फाइदा उठायो ।

यस्तै ‘दुबो फुल्यो’ले जसरी सांगीतिक माहोल पिट्यो, त्यसरी नै ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिस हल्लाईदियो । ‘छ माया छपक्कै’को गीत औसत हिट भएपनि सिनेमा बक्सअफिसमा अब्बल देखियो ।

गीत चले, सिनेमा चलेनन्

यो सालको ७ महिना बित्दा केहि यस्ता सिनेमा पनि प्रदर्शन भए, जो बक्सअफिसमा असफल भएपनि गीतले बजार पिटे । जेठमा रिलिज भएको ‘वीर विक्रम २’मा समावेश गरिएको ‘पिरतीको मिठो तिर्सना’लाई श्रोताले रुचाए । सिनेमाले भने सोचे जस्तो सफलता पाएन।

यस्तै ‘रातो टिका निधारमा’ले बक्सअफिसमा लगानी रिकभर नगरेपनि शिर्ष गीतले यो वर्षको दशैँ र तिहार ततायो । सालको हिट गीतमा ‘घामड शेरे’को ‘साली मन पर्यो’ पनि आउँछ ।

‘घामड शेरे’को गीत हिट भएपनि सिनेमाले बक्सअफिसमा जादु देखाउन सकेन ।

‘हजार जुनीसम्म’, ‘आप्पा’ र ‘पासवर्ड’का गीत औसत हिट भए । तर, सिनेमाको व्यापारमा कुनै फाइदा पुगेन ।

अहिलेसम्मको रिपोर्ट हेर्दा सफल सिनेमामा हिट गीतको योगदान ५० प्रतिशतको हारहारीमा देखिएको छ । भने, ५० प्रतिशत गीत हिट हुँदा पनि सिनेमा व्यापारमा खासै सफलता मिलेको छैन ।