शुक्रबारबाट ‘माछा माछा’सँगै ‘माया पिरिम’ प्रदर्शनमा

शुक्रबारबाट ‘माछा माछा’सँगै ‘माया पिरिम’ प्रदर्शनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि दुई नेपाली सिनेमा सार्वजनिक प्रदर्शनमा आएका छन् । सुनिल गुरुङ निर्देशित ‘माछा माछा’ र टेक पौरखी राई निर्देशित ‘माया पिरिम’ले आजदेखि प्रदर्शन थालनी गरेका हुन् । चर्चा गरौँ दुई सिनेमाको बारेमा ।

माछा माछा

क्राइम कमेडी सिनेमा ‘माछा माछा’मा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतको अभिनय छ ।

बुधबार गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएका कारण पनि सिनेमाको ‘वर्ड अफ माउथ’ बलियो हुने आशा गरिएको छ । मल्टीप्लेक्स शोजको कुरा गर्दा यसलाई औसत भन्न सकिन्छ ।

प्रिमियरमा निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेको सिनेमालाई पाहुनाले राम्रो बोलेका थिए । सिनेमामा निर्देशक गुरुङ कै लेखन छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ । सिनेमाको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् ।

माया पिरिम

कोशिस क्षेत्री र किरण चन्दको मुख्य भुमिका रहेको सिनेमाले प्रेमकथा बोकेको छ । सिंगल स्टेशन लक्षित सिनेमामा अनुपमा भण्डारी, सलोन बस्नेत, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्कीलगायतका कलाकारले अभिनय गरेको निर्माण पक्षले बताएको छ ।

बी हाइभ फिल्मसको व्यानरमा निर्मित सिनेमामा सबिन अधिकारीको कथा छ । प्रविण थापा र सबिन स्वयमले सिनेमाको निर्माण गरेका हुन् ।