क्रिकेटका किस्सा कोट्याउदै बलिउड

क्रिकेटका किस्सा कोट्याउदै बलिउड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भारतीयहरुमा क्रिकेट र सिनेमाप्रति निक्कै लगाव देखिन्छ । मनोरंजनको नाममा यी दुई विधालाई भारतीयले वर्षौँदेखि पच्छ्याईरहेका छन् । यहाँ वर्षेनी हजारौँ सिनेमा बन्छन र क्रिकेटका थुप्रै इतिहास लेखिन्छन पनि।

अब कुरा गरौँ क्रिकेट र बलिउडको सम्बन्ध । पछिल्लो समय यो सम्बन्ध बलियो हुँदै गैरहेको छ । क्रिकेटको विशाल सागरमा बलिउडकर्मीहरु यसकै किस्सा कोट्याउदै छन् ।

हुनत, ८० को दशकमा नै बलिउडमा क्रिकेटले प्रवेश गरिसकेको थियो । तर, त्यतिबेला पात्रको पृष्ठभुमि मात्र क्रिकेट हुन्थ्यो । अहिले समय फेरिएको छ, बलिउड सिनेमा पूर्णत क्रिकेटमै आधारित हुन् थालेका छन् ।

सन् १९८४ मा अभिनेता कुमार गौरवले सिनेमा ‘अल राउण्डर’मा क्रिकेट खेलाडीको भूमिका निर्वाह गरेका थिए । योसँगै क्रिकेटले सिनेमामा प्रवेश पायो । यस्तै १९८५ को ‘कभी अजनबी थे’मा क्रिकेटर सन्दीप पटिलले डेब्यु गरे । भलै सिनेमाको कथा क्रिकेटसँग सम्बन्धित थिएन । तर, क्रिकेट खेलाडीको डेब्युका कारण सिनेमाले राम्रो चर्चा बटुल्यो ।

९० को दशकमा आमिर खान अभिनित ‘अब्बल नम्बर’ रिलिज भयो । दिवंगत अभिनेता देव आनन्दले निर्देशन गरेको सिनेमाको मुख्य पात्र क्रिकेटरको भूमिकामा थिए ।

यस्तै क्रिकेटको विषयमा ‘लगान’, ‘इकबाल’, ‘पटियाला हाउस’, ‘दिल बोले हडिप्पा’, ‘जन्नत’, ‘चेन कुलिकी मेन कुली’, ‘एमएस धोनी: अनटोल्ड स्टोरी’, ‘अजहर’ र ‘जोया फ्याक्टर’ जस्ता सिनेमा बनिसकेका छन् ।

महान क्रिकेटर सचिन तेन्दुलकरको बायोपिकको रुपमा ‘सचिन: अ बिलियन ड्रिम्स’ पनि रिलिज भैसकेको छ । यसमा सचिन आफैले अभिनय गरेका थिए ।

आउने साल बढ्दो अंक

२०२० मा बलिउडमा क्रिकेटसँग जोडिएका केहि ठुला सिनेमा रिलिज हुनेछन । सन् १९८३ को विश्वकप क्रिकेट माथि आधारित सिनेमा ‘८३’ बहुप्रतिक्षित छ । यसमा तत्कालिन कप्तान कपिल देवको भूमिकामा अभिनेता रणवीर सिंह देखिदैछन् । ८३ मा भारतले पहिलो पटक विश्वकपको उपाधि भित्र्याएको थियो । यो आगामी वर्ष रिलिज हुनेछ ।

यस्तै शाहिद कपूरको सिनेमा ‘जर्सी’ पनि अर्को वर्ष रिलिज हुनेछ । क्रिकेटमा आधारित सिनेमा तेलुगुको रिमेक हो । सिनेमामा शाहिदसँगै मृणाल ठाकुर र पंकज कपूरको मुख्य भूमिका रहनेछ ।

भारतीय महिला क्रिकेटर कप्तान मिताली राजको जीवनीमा आधारित भएर पनि सिनेमा निर्माण हुँदैछ । सिनेमामा अभिनेत्री तापसी पन्नुले मुख्य भूमिका निर्वाह गर्दैछिन् ।

सचिनले आफ्नो जन्मदिनको अवसरमा सिनेमा ‘गड अफ क्रिकेट’ घोषणा गरिसकेका छन् । सम्भवत: २०२० भित्रै सिनेमा रिलिज हुनेछ ।