राष्ट्रिय सम्मानसहित दुई हस्तीको एकसाथ अन्तेष्टि

राष्ट्रिय सम्मानसहित दुई हस्तीको एकसाथ अन्तेष्टि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र बिकास बोर्ड अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको पार्थिव शरीर अन्तेष्टि गरिएको छ । पशुपति आर्यघाटमा एकसाथ राष्ट्रिय सम्मानका दुईको अन्तेष्टि गरियो ।

भट्टराई र दीपकका छोराले दागबत्ती दिँदा नेपाल प्रहरीको एक टुकडीले दुवैलाई राष्ट्रिय सम्मान दिएको थियो ।

शनिबार कलाकार क्षेत्री सुतेको ठाउँमै मृत अवस्थामा फेला परेका थिए । भने, आइतबार राती कलाकार र निर्मातासमेत रहेका भट्टराईको निधन भएको थियो । हृदयघातका कारण भट्टराईको निधन भएको बताइएको छ । यस्तै कलाकार क्षेत्रीको मृत्युबारे स्पष्ट कुरा पत्ता लागेको छैन ।

स्वर्गीय केशब भट्टराईको पार्थिव शरीर

अन्तेष्टि अगाडी दुवैको पार्थिव शरीरलाई चलचित्र बिकास बोर्डको प्रांगणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । उप-प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलसँगै सिनेमा क्षेत्रका व्यक्तित्व र परिवारले बोर्ड प्रांगणमा अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

भट्टराईलाई श्रद्धाञ्जली दिन सूचना, प्रविधी तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए । साता भित्रै सिनेमाका दुई हस्ती गुमाउँदा अहिले यो क्षेत्र नै स्तब्ध बनेको छ ।

स्वर्गीय दीपक क्षेत्रीको पार्थिव शरीर

करिब ८ महिना अगाडी चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराईबाट सिनेमा क्षेत्रले ठुलो आशा बोकेको थियो । अध्यक्ष बनेपछिका भट्टराईका काम-कारवाहीलाई प्रभावशाली मानिएको थियो ।

सयौँ सिनेमामा अभिनय पस्किएका भट्टराईले तीन दशकको सिने यात्रामा ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ जस्ता चर्चित सिनेमा पनि निर्माण गरेका थिए ।

‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’, ‘छ माया छपक्कै’लगायत सय बढी सिनेमामा अभिनय गरेका क्षेत्रीलाई प्रतिभाशाली कलाकारको रुपमा चिनिन्छ। क्षेत्रीले अभिनय गरेको पछिल्लो सिनेमा ‘छ माया छपक्कै’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो ।

तस्विर: ज्ञानु राई र निरज पन्थी (आपे)