माइनस २६ डिग्रीको चिसोमा खिचिदै ‘प्रेमगीत ३’, सकियो ७५ प्रतिशत छायांकन

माइनस २६ डिग्रीको चिसोमा खिचिदै ‘प्रेमगीत ३’, सकियो ७५ प्रतिशत छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको सिनेमा ‘प्रेमगीत ३’को छायांकन मनाङमा भैरहेको छ । जाडोको उच्च विन्दुमा टिमले लगावका साथ काम गरिरहेको निर्मातासमेत रहेका निर्देशक सेनले जानकारी दिए ।


‘हिउँ परिरहेको बेलामा छायांकन गर्नुपर्ने दृश्य भएकाले अलि गाह्रो छ । माइनस २६ डिग्री सेल्सियससम्म पनि टिमले मज्जाले काम गरिरहेको छ । मनाङमा १० दिनको छायांकन सकिँदा कुल ७५ प्रतिशत छायांकन पुरा भैसकेको छ । अगाडी कुनै अप्ठेरो नआएमा लगभग अबको १०-१५ दिन भित्रमा सम्पूर्ण छायांकन सकिनेछ ।’ सेनले जानकारी दिए ।

राजधानीको किर्तिपुरमा तयार गरिएको भव्य सेटमा ४५ प्रतिशत छायांकन सकाएर मनाङ हिँडेको ‘प्रेमगीत ३’ युनिट, छायांकन लगतै प्रचारमा निस्कनेछ । सिनेमाको ५५ प्रतिशत छायांकन मनाङमै हुनेछ ।


हिउँ पर्दा छायांकन गरिएका केहि थान तस्विर पनि निर्माण पक्षले बाहिर ल्याएको छ । जहाँ, मनाङको स्थिति झल्किन्छ । २ सय वर्ष अगाडीको प्रेमकथामा निर्माण भैरहेको सिनेमामा प्रदीप खड्का र क्रिष्टिना गुरुङले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

वर्षको प्रतिक्षित सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।


आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति चैत २८ गते रिलिज हुनेछ । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् ।