ट्रेन्डिङ शिर्ष स्थानमा ‘आमा’ ट्रेलर, करिब ९९ प्रतिशत लाइक

ट्रेन्डिङ शिर्ष स्थानमा ‘आमा’ ट्रेलर, करिब ९९ प्रतिशत लाइक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दीपेन्द्र के खनाल पछिल्लो छिमलका सफल र लोकप्रिय निर्देशक हुन् । यी निर्देशकको सिनेमा आउँदा एक किसिमको आशा गरिन्छ ।


खनाल निर्देशित पछिल्लो सिनेमा ‘आमा’को ट्रेलर यसै साता सार्वजनिक गरियो । युट्युबमा इमोसनल ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ । ट्रेलर हेरेर दर्शकले सिनेमा राम्रो बनेको हुन् सक्ने अनुमान गरेका छन् ।

रिलिज भएको तेस्रो दिनमा युट्युबको शिर्ष स्थान कब्जा गरेको ट्रेलरलाई ९८.९६ प्रतिशत लाइक मिलेको छ । डिसलाइक गर्नेको अनुपात १.०४ प्रतिशत मात्र छ ।

कमेन्ट बक्समा नकारात्मक कमेन्ट नभेटिनु सिनेमाको लागि अर्को सुखद पक्ष हो । विशेष गरि कमेन्टमा सिनेमाको कन्टेन्ट, कलाकारको अभिनय र संवादको चर्चा धेरै छ । ट्रेलरमा भ्युज ५ लाख २२ हजार बढी छ ।

धेरै दर्शकले सिनेमा हेर्न हलसम्म पुग्ने वाचा गरेका छन् । अब हेर्न बाँकी छ, फागुन ९ गतेदेखि ‘आमा’लाई दर्शकले कति साथ दिनेछन ।

सिनेमाले एउटा ‘आमा’ले घर परिवार र सन्तानका लागि गर्ने संघर्ष र पीडाको कथा भन्छ । सिनेमाको शिर्ष भूमिकामा मिथिला शर्मा छिन् । भने, उनको छोरीको भूमिका सुरक्षा पन्तले निर्वाह गरेकी छन् ।

सिनेमामा देशभक्त खनाल, सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको पनि अभिनय छ ।

डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा सुभाष भुसालको संगीत, दिर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ । सिनेमाको कथा र छायांकन पनि निर्देशक खनाल कै हो ।