‘चपली हाइट’ शृंखला भल्गर थिएन/छैन -निर्माता अर्जुन कुमार

‘चपली हाइट’ शृंखला भल्गर थिएन/छैन -निर्माता अर्जुन कुमार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – २०६८ साल नेपाली सिनेमाको लागि स्मरणीय छ । अघिल्ला वर्षमा जस्तै नेपाली सिनेमाको व्यापार लगातार ओरालो लाग्न थालेपछि यो क्षेत्र नै चिन्तामा डुबेको थियो । सिनेमा क्षेत्रमा संकटकाल लगाउनु पर्नेसम्मको चर्चा हुन् थाल्यो ।

असफलताको क्रम रोकिएको थिएन । यस्तैमा असोज १६ गते रेखा थापा र जीवन लुइँटेल स्टारर सिनेमा ‘अन्दाज’ रिलिज भयो । सांगीतिक रुपमा चर्चा पाएको सिनेमाले व्यापारिक रुपमा आफुलाई सुरक्षित गर्यो । आजित भैसकेका सिनेकर्मीमा यो सिनेमाको व्यापारले झिनो आशा कायमै राख्यो ।

तर, समय पुन: आफ्नै गतिमा फर्कियो । आशा गरिएका सिनेमा लगालग फ्लप भए । पुष महिना सकिनै लाग्दा पनि एउटा सिनेमाले मात्र लगानी रिकभर गर्नुले हविगत प्रष्ट हुन्थ्यो । अब त सिनेमा हिट बनाउन दम राख्ने सिनेकर्मी प्रति पनि भरोसा टुटीसकेको थियो ।

पुष अन्तिममा रिलिज भएको ‘लूट’ले सबै व्यापारिक रेकर्ड भत्काइदियो । सिनेकर्मीमा पुन: आशाको दियो बल्न थाल्यो । ‘लूट’को सफलतासँगै कन्टेन्टमा सिनेमा बन्न थाले ।

चैत ३ गते रिलिज भएको ‘चपली हाइट ३’को सफलताले केहि सिनेकर्मीमा सेक्स बेच्ने दौड सुरु भयो । यसले सिनेमा क्षेत्र उधो गतिमा धकेलिएको विश्लेषण गरियो । बिना पटकथाका त्यस्ता सिनेमालाई दर्शकले नै बहिस्कार गरेपछि सेक्स ओरेन्टेड सिनेमाको निर्माण कमि आयो ।

अहिले सिनेमा क्षेत्र कमेडीमा प्रवेश गरिसकेको छ । तर, सिनेमाको सफलता अनुपात राम्रो छैन । अन्य जनराका सिनेमा भटाभट असफल भैरहेको अवस्थामा ‘चपली हाइट’को शृंखला बन्द भएको छैन । ‘चपली हाइट २’ले पहिलोको जस्तो व्यापारिक सफलता हात नपारे पनि निर्माता अर्जुन कुमारको ध्येय ब्राण्ड बेच्नु नै छ ।

यौन मनोविज्ञानबाट सुरु भएको ‘चपली हाइट’ अहिले सस्पेन्स थ्रिलर जनरामा आइपुगेको छ । अघिल्ला शृंखलासँग ‘चपली हाइट ३’को कुनै सम्बन्ध छैन । तर, पनि दर्शकमा ‘चपली हाइट’ भन्दा यौन मनोविज्ञानको भुत सवार छ ।

चैत २८ लाई रिलिज मिति तोकेको ‘चपली हाइट ३’को छायांकन सकिएसँगै निर्माण पक्षले राजधानीमा प्रेसमिट आयोजना गर्यो । निर्माता अर्जुन कुमारसँगै प्रेसमिटमा कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र निर्देशक निकेश खड्का उपस्थित थिए ।


कार्यक्रममा बोल्दै निर्माता कुमारले ‘चपली हाइट’ शृंखलाको जन्मदाता भएको कारण ‘भल्गर’ भनिदिदा आफुलाई चित्त दुख्ने बताए । ‘चपली हाइट रिलिज पछि नेपालमा भल्गर सिनेमा बनाउने बाढी आएको थियो । तर मेरो सिनेमा भल्गर थिएन । र, ‘चपली हाइट’ शृंखलालाई भल्गरको ट्याग लगाउन मिल्दैन पनि ।’

‘हामीले इन्टरनेट र टेलिभिजनमा ‘चपली हाइट’ भन्दा पनि बढी खुलेका सिनेमा मज्जाले हेर्छौं । तर, नेपाली सिनेमामा यौन सम्वन्धि दृश्य राख्दा किन आपत्ति जनाउछौँ ।’ उनले दुखेसो पोखे ।

यता अभिनेत्री स्वस्तिमा खड्काले ‘चपली हाइट’ शृंखलालाई लिएर दर्शकको दिमागमा रहेको भुतलाई ‘चपली हाइट ३’ले चिर्ने आशा व्यक्त गरिन । ‘सस्पेन्स थ्रिलर सिनेमा हो । अघिल्लो शृंखलासँग कुनै साइनो छैन । आशा गरौँ, हल बाहिर निक्लदा दर्शकलाई भल्गर लाग्नेछैन ।’ उनले भनिन् ।