यसकारण चर्चामा छ विराज र निकिताको प्रतीक्षित सिनेमा ‘साङ्लो’

यसकारण चर्चामा छ विराज र निकिताको प्रतीक्षित सिनेमा ‘साङ्लो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –  एक्शन स्टार विराज भट्टको  सिनेमा ‘साङ्लो’  निर्माण घोषणादेखि नै चर्चामा  छ । यही सिनेमाबाट विराजले आफूलाई निर्देशकका रुपमा उभ्याएका छन् ।

लामो समयदेखि नेपाली र भोजपुरी सिनेमामा अभिनेता भएर सिकेको खुबीलाई उनले निर्देशकको हैसियतमा ‘साङ्लो’ मा व्यक्त गरेका छन् ।

यसकारण पनि ‘साङ्लो’ दर्शकका लागि प्रतिक्षित बनेको छ । यही सिनेमाबाट पूर्वमिस नेपाल निकिता चण्डकले नेपाली सिनेमा उद्योगमा डेब्यु गर्दैछिन् । केही समयअघि सार्वजनिक गरिएको ‘चरीले काफल पाक्यो’ बोलको गीतमा निकिताले देखाएको नृत्यलाई धेरैले तारिफ गरेका छन् । गीतमा निकिता र विराजको जोडी देख्न सकिन्छ ।

एक महिनाअघि सार्वजनिक गरिएको यो गीत दर्शकले रुचाएका छन् । निर्माण टिमले यो गीतको लोकप्रियताले सिनेमाको प्रचारमा फाइदा पुगेको विश्वास गरेको छ ।

माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाबारे विराज भन्छन् – म निकै आशावादी छु । मेरा दर्शकलाई मन पर्ने हिसाबले नै सिनेमा निर्माण गरेको छु ।

 

सिनेमाको ट्रेलर युट्युबमा सार्वजनिक गर्ने तयारीमा रहेका विराजले ट्रेलरमा आफ्नो एक्सन अवतार र रोमान्स देख्ने बताउँछन् । उनी भन्छन् – यो सिनेमाले लामो समयदेखि विराज भट्टको सिनेमा कुरिरहेका दर्शकलाई राम्रो खुराक बन्नेछ ।

सिनेमालाई लिएर नायिका निकिता चण्डक पनि उत्तिकै आशावादी छिन् । उनी भन्छिन् – कथाले लोभ्याएपछि सिनेमामा काम गर्न राजी भएँ । भूमिका मन परेको छ ।

 

निकिताले यसअघि सार्वजनिक भएको गीतबाट खुबै चर्चा कमाएकी छिन् । विराजले पनि निकिताको तारिफ गर्दै भन्छन् – उनले पहिलो सिनेमा भनेर कामचलाउ अभिनय गरेकी छैनिन् । निकै कडा मेहनत गरेकी छिन् ।

विराजले सिनेमामा निकिताको काम तारिफयोग्य भएको प्रतिक्रिया दिन्छन् ।

 

शिवम् अधिकारीले लेखेको यो सिनेमामा श्री श्रेष्ठको एक्सन देख्न सकिनेछ । गीतले खुबै चर्चा कमाएको छ । निर्माण टिमले शुक्रबार ट्रेलर सार्वजनिक गर्दैछ ।सिनेमामा विराज र निकिताको त शीर्ष भूमिका छ नै ।

त्यसबाहेक जयनन्द लामा, कामेश्वर चौरासिया, लय संग्रौला, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले त विराजको क्रेज अझै पनि उस्तै छ भन्ने देखाएको छ । सिनेमाले हलमा पनि दर्शकको साथ पाउनेछ भन्नेमा निर्माण टिम ढुक्क छ ।