‘साङ्लो’ भन्दा राम्रो डेब्यु अरु हुन सक्दैनथ्यो – निकिता चाण्डक

‘साङ्लो’ भन्दा राम्रो डेब्यु अरु हुन सक्दैनथ्यो – निकिता चाण्डक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाईम्स, काठमाडौँ – विश्वका कुनै पनि मुलुकमा सुन्दरता प्रतियोगिता जितेर अभिनयमा होमिने व्यक्तिको बढी नै चर्चा हुने गर्दछ । यसबाट नेपाली सिनेमाक्षेत्र अछुतो रहने कुरै भएन ।

झरना बज्रचार्य, सृष्टि श्रेष्ठ, मलिना जोशी, रुबी राणाजस्ता मिस नेपालले नेपाली सिनेमामा आफ्नो अभिनय पस्किसकेका छन् । यस वर्ष ‘मिस नेपाल – २०१७’ निकिता चाण्डकले सिनेमा ‘साङ्लो’ मार्फत डेब्यु गर्दैछिन् ।

निकिताको डेब्युलाई लिएर दर्शकमा एक किसिमको उत्सुकता छ । पहिलो सिनेमामै एक्सन स्टार विराज भट्टसँग जोडी बाँधेकी निकिताले कस्तो काम गरेकी छन् त ? सबैतिर यसकै चर्चा छ ।

माघ २४ गते रिलिज हुने ‘साङ्लो’लाई लिएर निकिता पनि आतुर छिन् । उनलाई पहिलो सिनेमाबाटै सहि मार्गमा हिड्नुछ । यसअघि ‘रानीमहल’ नामक सिनेमा साइन गरेपनि अन्त्यमा आएर त्यसबाट हात झिक्नुपर्यो । त्यसैले निकितालाई पर्दामा हेर्ने दर्शक रहर लम्बियो ।

‘साङ्लो’को ट्रेलर र एक गीत रिलिज भैसकेका छन् । जहाँबाट निकिताले उत्कृष्ट प्रतिक्रिया बटुलिन । गीत र ट्रेलरबाटै निकितालाई सम्भावना बोकेकी कलाकारमा हेर्न थालिएको छ । कामको समिक्षा त रिलिज पछि नै होला ।

‘साङ्लो’लाई निकिता आफ्नो सहि डेब्यु मान्छिन । उनि भन्छिन ‘मेरो यो भन्दा राम्रो डेब्यु हुन सक्दैनथ्यो । एकदम धेरै सिके । राम्रो टिम पाएँ । विराज दाईको सहयोगले अभिनयमा सजिलो भयो । यस प्रोजेक्टमा सिकेको कुराले आगामी प्रोजेक्टमा अझ राम्रो काम दिन सक्ने विश्वास बढेको छ ।’

विराजकै लगानी तथा निर्देशनमा बनेको ‘साङ्लो’मा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित सिनेमामा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।