बाँकी तीन महिना, बक्सअफिसमा ‘साङ्लो’देखि ‘प्रेमगीत ३’सम्म

बाँकी तीन महिना, बक्सअफिसमा ‘साङ्लो’देखि ‘प्रेमगीत ३’सम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक महिना यता नेपाली सिनेमाको व्यापार निक्कै कमजोर बनिसकेको छ । मंसीर र पुषमा रिलिज भएका कुनै पनि सिनेमाले लगानी उठाउन सकेनन् । अझ पुष महिनामा त सिनेमा रिलिज निक्कै न्यून छ । हलमा विदेशी सिनेमाकै हालीमुहाली छ ।


२०७६ सकिन झन्डै तीन महिना बाँकी छ । र यो समयमा केहि आशा गरिएका सिनेमा रिलिज हुनेछन । जसले वर्षको सुखद अन्त्य गर्न सक्छन ।

माघ २४ मा रिलिज हुने ‘साङ्लो’ र ‘सेल्फी किङ’ आगामी आशा गरिएका सिनेमा हुन् । दुई सिनेमा रिलिज हुँदा हल त बाँडिने नै भए । तर, ‘साङ्लो’ले मल्टीप्लेक्स भन्दा सिंगलमा बम्पर व्यापार गर्ने अनुमान छ । जसले गर्दा ‘सेल्फी किङ’ले मल्टीप्लेक्समा फाइदा उठाउन सक्छ ।

‘सेल्फी किङ’ स्टारकास्ट, कन्टेन्ट र टिमको कारण चर्चामा छ । भने ‘साङ्लो’मा स्टारकास्ट, गीत/संगीत र विराज भट्टको कमब्याकले हाइप शृजना गरेको छ । ‘साङ्लो’को निर्माण र निर्देशन विराज आफैले गरेका हुन् । यस्तै विपिन कार्की स्टारर ‘सेल्फी किङ’लाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । विराज र विशालले निर्देशनमा डेब्यु गर्दैछन् ।

फागुनमा ९ मा धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ र दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ रिलिज हुँदैछन । रामबाबु गुरुङले निर्देशन गरेको ‘सेन्टी भाइरस’बाट ठुलो आशा छ । निर्देशक गुरुङको पछिल्लो सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ बक्सअफिसमा ब्लकबस्टर सावित भैसकेको छ ।

सिनेमामा सिताराम कट्टेल (धुर्मुस), दयाहाङ राई, कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङलगायतले अभिनय गरेका छन् । मिथिला शर्मा र सुरक्षा पन्त स्टारर ‘आमा’को ट्रेलर रिलिज पश्चात हाइप चुलिएको छ । निर्देशक खनाल सिनेमाको मुख्य मेरुदण्ड हुन् । ‘पशुपति प्रसाद’ पश्चात ‘आमा’बाट उत्कृष्ट प्रतिक्रिया बटुलेको उनले बताएका छन् ।

फागुन २३ मा रिलिज हुने ‘म यस्तो गीत गाउँछु २’ले पनि बक्सअफिस तताउने अनुमान गरिएको छ । सुदर्शन थापा निर्देशित सिनेमाको पहिलो सिरिज बक्सअफिसमा सुपरहिट थियो । ब्राण्ड, गीत/संगीत र स्टारकास्ट सिनेमा चल्न सक्ने हतियार हुन् । सिनेमामा पूजा शर्मा र पल शाहको मुख्य भूमिका छ ।

हास्य कलाकार शिवहरी पौडेलको निर्देशकीय डेब्यु ‘लक्का जवान’ चैत २१ मा रिलिज हुँदैछ । सिनेमामा दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेल, किरण केसी, सलोन बस्नेतलगायतका कलाकारको अभिनय छ ।

किरण केसीले निर्माण गरेको सिनेमाले पनि बक्सअफिसमा राम्रो कमाइ गर्ने अनुमान गरिएको छ । किरणले निर्माण गरेको ‘दाल भात तरकारी’ यस वर्षको सफल सिनेमामा गनिन्छ ।

चैत २८ मा आशा गरिएका सिनेमाको हेवीवेट भिडन्त हुनेछ । बलियो ब्राण्ड बनाएका ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ यो मितिमा रिलिज हुनेछन । यी सँगै गोपीकृष्ण मुभिजको ‘माइकल अधिकारी’ले पनि चैत २८ रिलिज तोकेको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर सिनेमाको छायांकन सुरु भएको छैन ।

प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मीलगायतले अभिनय गरेको ‘प्रेमगीत ३’ बलियो ब्राण्ड हो । यसका अघिल्ला दुई सिरिजले बक्सअफिसमा राम्रो पैसा छापेका थिए । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमाको हाइप निर्माण घोषणादेखि नै उच्च छ ।

यस्तै अर्को ब्राण्ड सिरिज ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका छ । निकेश खड्काले निर्देशन गरेको सिनेमाले पनि राम्रो व्यापार गर्ने अनुमान छ ।

यी बाहेक माघ ३ मा ‘१२ सत्ताइस’, माघ १७ मा ‘दि कर्मा’ र फागुन २ मा ‘लभ डायरिज’ रिलिज हुँदैछन । अन्यको तुलनामा यी सिनेमाको हाइप कम छ । हेरौं, रिलिजको संघारसम्म यी सिनेमाको हाइप कहाँ पुग्छ ?