करिब डेढ महिनापछि हलमा नेपाली सिनेमा

करिब डेढ महिनापछि हलमा नेपाली सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीर २० मा रिलिज भएका ‘माछा माछा’ र ‘माया पिरिम’ पछि बक्सअफिसमा नेपाली सिनेमाको शुन्यता छायो ।

मंसीर अन्तिम सातामा नेपाली सिनेमा रिलिज भएनन् । बलिउडको ‘मर्दानी २’ र ‘हलिउडको ‘जुमाञ्जी’ प्रदर्शनमा आए । योसँगै हल नेपाली सिनेमाको खडेरी सुरु भयो । बढ्दो चिसो पनि नेपाली सिनेमा प्रदर्शन हुन् नसक्नुको अर्को कारण बन्यो ।

पुष महिना भरि कुनै पनि नेपाली सिनेमा रिलिज भएनन् । यो उदेकलाग्दो महिनामा बलिउड र हलिउडका सिनेमाले करोडौँको व्यापार गरे ।

‘दबंग ३’, ‘गुड न्युज’, ‘छपाक’ र ‘तनाजी’लाई पुषको जाडोले असर गरेन । टिकट काउन्टरमा दर्शकको लाइन लाग्यो, शो हाउसफुल भए ।

झन्डै डेढ महिना पछि हलमा नेपाली सिनेमाको आगमन भएको छ । जोन योञ्जन निर्देशित ‘१२ सत्ताइस’ प्रचार बिना हलमा आएको छ ।

समिर श्रेष्ठ, अभिषेक नेपाल र काजी राना अभिनित सिनेमाले हलमा नेपाली सिनेमाको खडेरी तोडेपनि दर्शकको खडेरी परिपूर्ति गर्ला त ? विकेन्डसम्म कुर्नैपर्छ ।

माघ १७ मा ‘दी कर्मा र माघ २४ मा ‘साङ्लो’/’सेल्फी किङ’ रिलिज हुँदैछन् । आशा गरौँ अब हलमा नेपाली सिनेमाको दबदबा रहनेछ ।