देशभरका ५० हजार बढी सवारीमा ‘सेन्टी भाइरस’को पोस्टर टाँसिने

देशभरका ५० हजार बढी सवारीमा ‘सेन्टी भाइरस’को पोस्टर टाँसिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – धुर्मुस-सुन्तलीले निर्माण गरेको सिनेमा सेन्टी भाइरस को पोस्टर देशभरका ५० हजार बढी सवारी साधनमा टाँसिने भएको छ । सोमबार राजधानीमा उपत्यका ट्याक्सी व्यवसायी संघले ट्याक्सीमा पोस्टर टाँसेर अभियानको सुरुवात गर्यो ।

ट्याक्सीमा पोस्टर टाँस्नलाई सिनेमाका कलाकार सिताराम कट्टेल (धुर्मुस) र बुद्दि तामाङ उपस्थित थिए ।

पोस्टर टाँसीसकेपछि धुर्मुसले गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरे । ‘आम नेपालीको राष्ट्रिय गौरवको आयोजनामा सबैको साथ रहने अपेक्षा लिएका छौँ । रंगशाला निर्माणमा सहयोग पुग्ने अपेक्षाका साथ सिनेमा सेन्टी भाइरस  निर्माण गरेका छौँ । पहिले सिनेमाबाट नाफा उठेको रकमको २० प्रतिशत रंगशाला निर्माणमा खर्चिने भनेका थियौँ । तर, अहिले हामीले यस अनुपातलाई बढाएर ५० प्रतिशतमा पुर्याएका छौँ ।’

धुर्मुसले सिनेमा हेरिदिन आग्रह गर्दै अगाडी भने ‘तपाईहरुले सिनेमा हेर्न खर्चिएको रकम राष्ट्रिय गौरवको आयोजनामा सहयोग हुनेछ । त्यसैले सिनेमाको बारेमा आम सर्वसाधरणमा जानकारी होस् भन्ने हेतुले नेपाल यातायात व्यवसायी महासंघले देशभरका ५० हजार बढी सवारीमा पोस्टर टाँस्दैछ । यसले सिनेमाको प्रचारमा थप सहयोग पुग्ने आशा बोकेका छौँ ।’

रामबाबु गुरुङले निर्देशन गरेको सेन्टी भाइरस  फागुन ९ देखि अलनेपाल रिलिज हुँदैछ । सिनेमामा धुर्मुस र बुद्दिका अलावा दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, राजराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।

सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् ।

सिनेमामा राजनराज सिवाकोटी/शंकर थापा/कालीप्रसाद बाँस्कोटा/सुशान्त गौतमको सयुंक्त संगीत, शैलेन्द्र ध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।