पूजा र आकाशको ‘मन परेसी’ शुभमुर्हुत

पूजा र आकाशको ‘मन परेसी’ शुभमुर्हुत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहने सिनेमा ‘मन परेसी’को शुभमुर्हुत गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विहिबार राजधानीको भद्रकाली मन्दिरमा निर्माण पक्षले सिनेमा सामाग्रीको पुजा गर्यो ।

आइतबारबाट छायांकनमा जाने सिनेमामा पूजा र आकाशसँगै रविन्द्र झा, बुद्दि तामाङ, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, मोनालिसा खतिवडालगायतका कलाकारको अभिनय रहनेछ । ‘मन परेसी’सहित पूजासँग आकाशको यो लगातार पाँचौं सहकार्य हो । यसअघि ‘रामकहानी’, ‘पोइ पर्यो काले’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’मा यो जोडीले काम गरिसकेको छ ।

‘जय शम्भु’ फेम्ड रुपेश थिङ तामाङले निर्देशन गर्ने सिनेमा ४० दिने सेड्युल लिएर फ्लोरमा जाँदैछ । आगामी वर्षको तीजमा रिलिज लक्ष्य राखिएको सिनेमामा अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण वर्देवाको संगीत रहनेछ ।

मिडिया एण्ड मुभिज प्रालि र जुना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने सिनेमामा हरी घले लामाको छायांकन, राजु तामाङको द्वन्द्ध, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।

रघु परियारको प्रस्तुति रहने सिनेमामा अमृत थिङ तामाङ कार्यकारी निर्माता, दिनेश शाही/चक्र पाख्रिन तामाङ निर्माता र भुवनराज जोशी/कृष्ण परियार/ज्ञानु प्रसाद खनाल/प्रेमबहादुर घर्ति सह-निर्माता हुनेछन ।