‘सेन्टी भाइरस’को ५० प्रतिशत नाफा रंगशालामा, गोश्वारा हुलाकको १ लाख सहयोग

‘सेन्टी भाइरस’को ५० प्रतिशत नाफा रंगशालामा, गोश्वारा हुलाकको १ लाख सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – धुर्मुस-सुन्तली फाउन्डेसन अहिले देशको नमुना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खटिरहेको छ । अर्बौको लगानीमा बन्दै गरेको रंगशालाको लागि सहयोग अपिल पनि भैरहेका छन् ।

देशभरबाट सहयोग आउने क्रममा गोश्वारा हुलाक कार्यलयले फाउन्डेसनलाई १ लाख ५ हजार २ सय सत्तरी रुपैयाँ हस्तान्तरण गरेको छ । बुधबार फाउन्डेसनका संस्थापक सिताराम कट्टेल (धुर्मुस)लाई हुलाक कार्यलयमै पदाधिकारीले सहयोग हस्तान्तरण गरेका हुन् ।

हुलाक कार्यालयका कार्यकर्ता, स्कुले बालबालिका र वृद्दहरुले खाजा खाने पैसा र वृद्दभत्ता जम्मा गरेर फाउन्डेसनलाई सहयोग गरेका हुन ।

सहयोग प्राप्त गरेपछि धुर्मुसले सबैलाई आभार व्यक्त गरे । ‘हामी सबै नेपालीको राष्ट्रिय गौरवको आयोजनामा आफ्नो खाजा र वृद्दभत्ता कटाएर जुन रुपले सहयोग गर्नुभएको छ । यो अति नै राम्रो काम हो । तपाईको सहयोगले भोलि रंगशाला निर्माणमा मेरो पनि पसिना परेको छ है भन्दा गौरव महसुस हुनेछ । ७७ जिल्ला झल्काउने ७७ कक्षको लागि हामीले सम्पूर्ण जिल्लामा सहयोग अपिल गरेका छौँ । त्यसैले सहयोग आउने आशा छ । रंगशाला निर्माणका लागि सबैले हातेमालो गरौँ । उनले भने ।

रंगशाला निर्माणका निमित्त धुर्मुस-सुन्तलीले निर्माण गरेको सिनेमा ‘सेन्टी भाइरस’ फागुन ९ देखि अलनेपाल रिलिज हुँदैछ । सिनेमाको व्यापारबाट आउने रकमको ५० प्रतिशत रंगशाला निर्माणमा खर्चिने घोषणा यसअघि नै भैसकेको छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमाको ट्रेलर बुधबार मात्र सार्वजनिक गरिएको थियो । सिनेमामा धुर्मुस-सुन्तलीसँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्री, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ ।