मिलनको ‘गोर्खा वारियर’ घोषणा, दयाहाङदेखि प्रशान्तसम्मको लाइनअप

मिलनको ‘गोर्खा वारियर’ घोषणा, दयाहाङदेखि प्रशान्तसम्मको लाइनअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –निर्देशक मिलन चाम्सले नयाँ सिनेमा घोषणा गरेका छन् । उनले वीर गोर्खालीको कथामा सिनेमा ‘गोर्खा वारियर’ निर्देशन गर्न लागेका हुन् ।


२० करोड बढी लागतमा निर्माण हुने सिनेमालाई चाम्सले आफ्नो ड्रिम प्रोजेक्ट बताएका छन् । चाँडै छायांकन सुरु हुने सिनेमामा कलाकारको रुपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् । हलिउड कलाकारको पनि अभिनय रहने सिनेमाबाट रितेश चाम्सले  डेब्यु गर्नेछन् ।

५० प्रतिशत हलिउड प्राविधिक राखेर सिनेमा नेपाली र अंग्रेजी भाषामा तयार गरिनेछ । सिनेमा निर्माण भैसकेपछि लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने बताइएको छ ।

नेपाली सिनेमालाई विश्वव्यापी रुपमा चिनाउन लण्डनमा पहिलो पटक डबल टेकर बसबाट अहिलेदेखि नै प्रचार सुरु गरिएको निर्देशक चाम्सले जानकारी दिए । प्रचारमा ५० वटा डबल टेकर बस प्रयोग गरिएकोसमेत उनले बताए ।

यूके, अफगानिस्थान र नेपालमा छायांकन हुने सिनेमाको एक अभिनेत्रीको खोजी भैरहेको निर्माण पक्षले बताएको छ । यस वर्ष रिलिज भएको ‘वीर विक्रम २’ पछाडी निर्देशक चाम्सले नयाँ सिनेमा निर्माण गर्न लागेका हुन् । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमा २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइनेछ ।