‘साङ्लो’ गीत विवाद, निर्माता मर्कामा

‘साङ्लो’ गीत विवाद, निर्माता मर्कामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ २४ गते रिलिज हुने सिनेमा ‘साङ्लो’ अहिले चर्चामा छ । सांगीतिक पक्ष र ट्रेलर गर्दा हाइपमा रहेको सिनेमा रिलिजको मुखमा विवादमा तानिएको हो ।

सिनेमामा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतको शब्द चोरिएको भन्दै निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका थिए । आफुले लेखेको गीत नसोधेरै सिनेमामा राखेको र युट्युबमा पनि अर्कैको नाम आएपछि प्रतिलिपि अधिकारको रक्षार्थ उनले उजुरी दिएको बताउछन् ।

उजुरी पछि सिनेमाका निर्देशक, निर्माता तथा कलाकार विराज भट्टले मंगलबार राजधानीमा आकस्मिक प्रेसमिट बोलाएका थिए ।

प्रेसमिटमा विराजले आफुलाई ब्ल्याकमेल भैरहेको बताए । ‘टेक्निकल त्रुटीका कारण रचनाकारको नाम गलत लेखिएको रहेछ । उहाँको उजुरी पछि हामी भेटेर सहमतिमा विवाद टुग्याउने सोचमा थियौँ । तर, भेटमा उहाँले १०-२० लाखको माग गर्नुभयो । यो त सिधै ‘साङ्लो’लाई सिध्याउन ब्ल्याकमेलिङ भयो ।’

विराजले अगाडी थपे ‘अहिले सिनेमाको व्यापार कस्तो छ भन्ने सबैलाई थाहा छदैछ । यस्तो अवस्थामा एक गीतको लागि यत्रो ठुलो रकम माग गर्नुलाई के भन्ने ? उहाँको नाम सिनेमा कास्टिङमा पुगिसकेको छ । युट्युबमा भुलबस भएको हो । यसलाई हामीले आपसी समझदारीमा टुंग्याउन सक्थ्यौँ । त्यसैमा मैले यो गीत संगीतकार सुरेश अधिकारीसँग किनेको हुँ ।’

‘यदी कानुनले सिनेमामा गीत नराख्न भन्छ भने म हटाउन तयार छु । गीत खिच्दा भएको १०/१५ लाख खर्च म बेहोर्न तयार छु । तर, पैसाका लागि यसरी ‘ब्ल्याकमेलिङ’ गर्नु राम्रो होइन,’ अभिनेता विराजले अगाडि भने, ‘सिनेमामा मैले कुनै काम गैरकानुनी रुपमा गरेको छैन ।’

यस्तै संगीतकार सुरेश अधिकारीले उक्त गीतको सम्पूर्ण अधिकार आफुसँग पनि भएको बताए । अधिकारीले पनि युट्युबमा रचनाकारको नाम गल्तिबस अर्कैको नाम पर्न गएको दावी गरे ।

‘उक्त गीतको अधिकार मसँग पनि छ । ‘रुद्रप्रिया’को लागि सुदीपले लेखेको गीत सिनेमामा समावेश नभएपछि निर्माण पक्षले नै यसलाई मेरो अधिकारमा सुम्पेको थियो । र मैले ‘साङ्लो’लाई बेचे । उहाँका शब्दमा केहि परिवर्तन पनि भएका छन् । तर, उहाँको नामै नराख्ने मनसायले यस्तो गरिएको होइन ।’ संगीतकार अधिकारीले भने ।