सेलाएको बक्सअफिस तताउन रिलिज भए ‘साङ्लो’ र ‘सेल्फी किङ’ !

सेलाएको बक्सअफिस तताउन रिलिज भए ‘साङ्लो’ र ‘सेल्फी किङ’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । अभिनेता विराज भट्टको ‘साङ्लो’ र विपिन कार्कीको ‘सेल्फी किङ’ नेपाली बक्सअफिसमा उत्रिएका हुन् ।

तिहारपछि सेलाएको बक्सअफिस यी दुई सिनेमाले तताउने अनुमान गरिएको छ । रिलिज अगाडी दुवै सिनेमाका प्रचार सामाग्री दर्शकले रुचाएका छन् । दर्शकसम्म राम्रो हाइप बनाएका कारण निर्माण पक्षको आशा बढेको छ ।

विराज आफैले निर्माण,निर्देशन र अभिनय गरेको ‘साङ्लो’ले समाज भित्रका विभिन्न कथा उनेको छ । अभिनेतामा आफुलाई अब्बल सावित गरिसकेका विराज निर्देशनको यात्रामा पनि सुखद सुरुवात गर्न चाहन्छन । हेरौँ दर्शकको कस्तो साथ मिल्नेछ ?

सुन्दर सुदुरपश्चिम प्रदेशको पहाडी जिल्लामा खिचिएको सिनेमाबाट ‘मिस नेपाल -२०१७’ निकिता चाण्डकले अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन ।

शिवम अधिकारीले लेखेको ‘साङ्लो’मा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै विशाल सापकोटाको डेब्यु निर्देशन ‘सेल्फी किङ’ले एक हास्यकलाकारको तीन दिने यात्राको कथा भन्नेछ । प्रिमियरमा सिनेकर्मीले रुचाइसकेका छन् । सिनेमाको कथाबस्तु र शिर्ष कलाकार विपिन कार्कीको अभिनयको प्रशंसा भएको छ ।

आफ्ना प्राय सिनेमामा जस्तै ‘सेल्फी किङ’मा पनि विपिनले अभिनयबाट निरास नबनाउने सिनेकर्मीले बताएका छन् ।

विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराल लगायतका कलाकारले अभिनय गरेको सिनेमालाई दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् ।