विराजको कमब्याकलाई दर्शकको स्वागत, शनिबार हाउसफुलको व्यापार

विराजको कमब्याकलाई दर्शकको स्वागत, शनिबार हाउसफुलको व्यापार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विराज भट्ट स्टारर सिनेमा ‘साङ्लो’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रबार र शनिबार सिनेमाको व्यापार राम्रो रहेको वितरक गोपालकाजी कायस्थले जानकारी दिए ।


शुक्रबार अलनेपाल ५५ प्रतिशत अकुपेन्सी मापन गरिएको थियो । शनिबार सिंगल स्क्रिनमा ८० प्रतिशत अकुपेन्सीका साथ सुरु भएको व्यापार दिउँसोबाट हाउसफुल रह्यो । मल्टीप्लेक्समा कम शोज पाएपनि सिनेमाले शनिबार दिनभरि ५० प्रतिशत अकुपेन्सी कायम गर्यो ।

विशेष गरि राजधानीका गोपीकृष्ण, गुण सिनेमाज, अष्टनारायण हाउसफुल भए । भने, मोफसलका धनगढी, पोखरा, नारायणगढ, इटहरी, बुलवललगायतका ठुला स्टेशनमा दर्शकको अत्याधिक चाप रहेको भ्याली बाहिर सिनेमा वितरण गरेको एफडीले जानकारी दियो ।

‘तिहारपछि सिनेमा नचल्दा देशमा कयौँ हलका विहानी शोज कटौती भएका थिए । ‘साङ्लो’ रिलिज भएसँगै हलमा विहानदेखि बेलुकासम्म दर्शकको लाइन लागेको छ ।’ वितरक कायस्थले खुसि व्यक्त गरे ।

अष्टनारायण हल, बालाजु 

यस्तै शनिबार हल रिपोर्ट बुझ्न राजधानीका हल धाएका कलाकार विराज भट्टले दर्शकको मायामा आभार प्रकट गरे । ‘मलाई यस स्थानसम्म दर्शकले ल्याउनु भएको हो । र, लामो समयपछि दर्शक माँझ आउँदा यतिको स्वागत होला भन्ने सोचेको थिएन । मायाको लागि धन्यवाद ।’ विराजले भने ।

सिंगल स्क्रिनमा देखिएको दर्शकको भिडले विराजको स्टारडम पावर देखाएको छ । विराज हल पुग्दा दर्शकले ठुलो हुटिङ गरेका थिए । उनिसँग सेल्फी खिच्न दर्शकको भिड थामिनसक्नु थियो । दर्शकसँग साक्षात्कार गर्ने क्रममा उनले सिनेमाको डाइलग र गीत सुनाए ।

विराज आफैले निर्माण, निर्देशन र अभिनय गरेको सिनेमाको एक्सन पाटो सर्वाधिक रुचाइएको छ । सिनेमामा विराजसँगै निकिता चाण्डक, जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारले अभिनय छ ।