‘प्रेमगीत ३’ विदेश राइट: तीन देशका लागि ५१ लाखमा विक्री

‘प्रेमगीत ३’ विदेश राइट: तीन देशका लागि ५१ लाखमा विक्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्षकै प्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को विदेश राइट विक्री सुरु भएको छ । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले सिनेमाको नर्थ अमेरिका राइटमा महँगो रकम खर्चिएका छन् ।

निर्माता सन्तोष सेनले दिएको जानकारी अनुसार नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाको लागि ४५ हजार अमेरिकी डलर (५१ लाख, ३४ हजार १ सय ५३ रुपैयाँ आजको गुगल रेट)मा दुई पक्षिय सहमति भएको हो । यी नर्थ अमेरिकाका सर्वाधिक जनसंख्या भएका देश हुन् ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमाको पहिलो गीत ‘हात्ती ढुंगामा’ रिलिज भैसकेको छ । गीत रिलिज पश्चात सिनेमा हाइप अझ धेरै आकासिएको छ । त्यसैले सिनेमाले विदेश राइटको लागि राम्रो रकम पाउन सकेको हो ।

प्रदीप खड्का र क्रिष्टिना गुरुङको शिर्ष भूमिका रहेको सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् ।

आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको लगानी छ । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको सिनेमाको नेपाली नयाँ वर्षको अवसर पारेर चैत २८ मा रिलिज हुँदैछ ।