anmol jasita

रंगशाला निर्माणका लागि ‘सेन्टी भाइरस’, प्रचारमा धुर्मुस-सुन्तलीको कडा मिहेनत

रंगशाला निर्माणका लागि ‘सेन्टी भाइरस’, प्रचारमा धुर्मुस-सुन्तलीको कडा मिहेनत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सामाजिक अभियन्ता धुर्मुस-सुन्तली यति बेला चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा दिन रात नभनी खटिरहेका छन् । झन्डै ४ अर्व लागतमा जनस्तरको सहयोग अपेक्षा गरि देशकै नमुना प्रोजेक्ट निर्माण गर्नु चानचुने कुरा होइन ।

सहयोग जुटाउन धुर्मुस-सुन्तलीले विभिन्न उपाए अपनाइरहेका छन् । वृहत धन-धान्याचल महोत्सव, एक जिल्ला एक कक्ष, सहयोग अपिल, रंगशाला क्षेत्र भित्रकै क्यान्टिन र सिनेमा ‘सेन्टी भाइरस’ निर्माण गरेर धुर्मुस-सुन्तलीले रकम संकलनका कार्यहरुमा ज्यान दिइरहेका छन् ।

जसमध्येको रंगशालालाई राम्रो रकम ‘सेन्टी भाइरस’ सफलताले प्रदान गर्नेछ । यसको नाफाको ५० प्रतिशत रंगशाला निर्माणमा खर्चिने योजना छ । त्यसैले सिनेमाको प्रचारमा सक्दो खटाइ देखिन्छ ।

डिन्डू लामा ह्याल्मो र फुर्पा ह्याल्मोले लगानी गरेको सिनेमा कुनै पनि हालतमा सफल बनाउन धुर्मुस-सुन्तली लागिपरेका छन् । रंगशालाको रेखदेख र सिनेमाको प्रचारमा दुवै जनाले पालो मिलाइरहेका छन् ।

रिलिज लागि एक साता मात्र बाँकी हुँदा देशका चर्चित टिभी रियालिटी शो र सिरियलमा धुर्मुस-सुन्तली सिनेमा प्रवर्द्दनको लागि धाउन थालेका छन् ।

नम्बर १ टिभी सिरियल ‘सक्किगोनी’मा दयाहाङ र धुर्मुसले अभिनय गरेका थिए । त्यसपछि धुर्मुस-सुन्तली ‘मेरी बास्सै’को नयाँ शृंखलामा पनि देखिदैछन । ‘मेरी बास्सै’बाट कलाकारितामा ख्याति कमाएको यस जोडी झन्डै पाँच वर्ष पछि शृंखलामा फर्किएको हो । तर, एक शृंखलामा मात्र यो जोडीलाई देख्न सकिनेछ ।

यस्तै ‘कमेडी च्याम्पियन’मा पनि यस जोडीले सहभागिता जनाइसकेको छ । सिनेमाका मुख्य कलाकार दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङलगायतले पनि प्रचारमा प्रत्यक्ष सहयोग गरिरहेका छन् । यति मात्र होइन सिनेमाको पोस्टर देशभरका ५० हजार बढी सवारी साधनमा पनि टाँस्ने अभियान पनि सकिएको छ ।

गत शुक्रबार व्यस्तता वावजुत दयाहाङले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा चलचित्र पत्रकार विरुद्द ब्याट घुमाए । रंगशाला निर्माणमा सहयोग जुटाउन र सिनेमा प्रचारका निमित्त यस च्यारिटी म्याचको आयोजना गरिएको थियो ।

रिलिज सातामा सिनेमाको टिमले टाइट सेड्युलका वावजुत थुप्रै मिडियामा अन्तर्वार्ता दिइरहेको छ । यो कार्य सम्भवत: साताभर चल्नेछ ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेलगायतका कलाकारको अभिनय छ ।

कुमार कट्टेल र दीपक आचार्यले सिनेमाको लागि देशकै राजनीतिक अवस्थालाई पटकथामा उतारेका छन् । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकको मन जितिसकेको छ । फागुन ९ गते महाशिवरात्रीको अवसरमा सिनेमा अलनेपाल रिलिज हुँदैछ ।