anmol jasita

सिनेमा संस्कृति बिकास गर्न धेरै भन्दा धेरै सिनेमा गरेँ – राजेश हमाल

सिनेमा संस्कृति बिकास गर्न धेरै भन्दा धेरै सिनेमा गरेँ – राजेश हमाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – महानायक राजेश हमालले करिअरको उत्कर्षमा सिनेमा छान्न नजानेको आरोप छ । सयौँ सिनेमामा अभिनय गर्दा पनि हमालका सम्झिनलायक सिनेमा नरहेको तर्क भैरहन्छन ।

यस विषयमा हमालले मुख खोलेका छन् । उनले सिनेमाको इतिहासलाई अहिलेको चस्माले नहेर्न आग्रह गर्दै आफुले नछानेर सिनेमा गर्नुको कारण बताए । ‘हाम्रो समयमा अहिलेको जस्तो धेरै सिनेमा निर्माण हुन्थेनन् । वर्षमा ३-४ ओटा सिनेमा निर्माण हुँदा कसरी यस क्षेत्रले उद्योगको दर्जा पाउन सक्छ ?

मेरो आगमनसँगै सिनेमा क्षेत्रमा सानोतिनो क्रान्ति नै आयो । पहिलो सिनेमा ‘युगदेखि युगसम्म’ सफल भएपछी मेकरको नजरमा परे । कुनै बेला एक दशक जति मैले दैनिक १७-१८ घण्टा सिनेमा छायांकन गरेँ । मलाई लिएर सिनेमा बनाउन हरेक निर्माता लालायित हुन्थ्ये ।

सिनेमा निर्माणमा वृद्धी हुन् थालेपछि नेपालमा टेक्निसियनको अभाव देखिन थाल्यो । भारतबाट मगाइएका टेक्निसियनबाट नेपालीले काम सिके । सिनेमा निर्माणको माहोल बन्न थाल्यो । त्यतिबेला जति सक्दो धेरै सिनेमा बन्न जरुरी थियो । जसले सिनेमा क्षेत्रफल फराकिलो बनाउन भूमिका खेल्थ्यो ।

सिनेमा क्षेत्रमा धेरै भन्दा धेरै मानिसको संग्लनता रहोस भन्ने धेय्यले अफर आएका सबै सिनेमा गर्न थाले । त्यसपछि विस्तारै सिनेमा निर्माणको संख्या बढ्न थाल्यो । अहिले सय हाराहारीमा सिनेमा बनिरहेका छन् । देशमा सिनेमाको बिकास भएको छ । यस क्षेत्रलाई कर्म थलो बनाउनेको संख्या बढेको छ ।

त्यो समय नै त्यस्तो थियो, जतिबेला मैले धेरै सिनेमा गर्नुपर्यो । अहिले धेरै सिनेमा बनिरहेका छन् । तपाइँ आफुलाई उत्कृष्ट लाग्ने कथामा सिनेमा बनाउन सक्नुहुन्छ । त्यसैले पहिलेको समयलाई अहिले आँखाबाट हेर्नुभयो भने थुप्रै कमि कमजोरी भेट्टाउनु हुनेछ ।

पाँच दिनदेखि राजधानीमा चलिरहेको नेपाल अन्तर्राष्टिय फिल्म फेस्टिभलमा हमालले आफ्नो अभिनय यात्राको बारेमा बोलेका थिए । उनको अभिनय यात्राको कथा सुन्न दर्शक भरिभराउ थिए । स्टेजमा उनको प्रवेशसँगै दर्शकले ताली बजाएर स्वागत गरेका थिए ।

सोमबार यस महोत्सवको समापन हुँदैछ ।