‘प्रेमगीत ३’ विदेश राइट्स: युरोपका ८ देशको लागि ३० लाखमा विक्री

‘प्रेमगीत ३’ विदेश राइट्स: युरोपका ८ देशको लागि ३० लाखमा विक्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप खड्का स्टारर सिनेमा ‘प्रेमगीत ३’ युरोपका ८ देशमा विक्री भएको छ । इनास चलचित्र प्रवर्धन समिति ग्लोबल संयोजक मनिष श्रेष्ठ र इनास युरोपको को-अर्डीनेटर सन्त कुमार थापा मगरले सिनेमाको युरोप राइट्स खरिद गरेका हुन् ।

बुधबार सिनेमाका निर्माता सन्तोष सेन र इनासका पदाधिकारी बीच युरोप राइट्सको लागि २३ हजार ५०० युरो (३० लाख नेपाली)मा लिखित सम्झौता भएको हो ।

यसअघि सिनेमाको अमेरिका, क्यानडा र मेक्सिको राइट्स ५१ हजारमा विक्री भएको थियो । यो सँगै रिलिज अगाडी नै सिनेमाले लगानीको ८१ लाख सुरक्षित गरिसकेको छ ।

वर्षकै प्रतिक्षित मध्येको सिनेमा मध्येको एक भएकाले पनि ‘प्रेमगीत ३’को विदेश राइट्स राम्रो मुल्यमा विक्री भैरहेको छ । उच्च हाइपका कारण सिनेमाले बक्सअफिसमा बम्पर व्यापार गर्ने अनुमान छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीपसँग डेब्यु गर्ल कृष्टिना गुरुङले जोडी बाँधेकी छन् । सिनेमाको पहिलो सार्वजनिक गीत ‘हात्ती ढुंगामा’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइसकेको छ । अब निर्माण पक्ष ट्रेलर रिलिजको तयारीमा छ ।

सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम गरेका छन् ।

आसुशेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको लगानी छ । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको सिनेमाको नेपाली नयाँ वर्षको अवसर पारेर चैत २८ मा रिलिज हुँदैछ ।